काठमाडौं, १९ असार । आइतबार संसदको बैठक चलिरहेको छ । संसदको बैठकको अध्यक्षता उपसभामुख गंगाप्रसाद यादवले गरिरहनुभएको छ ।
तर, संसद बैठक चलरिहँदा सांसदहरूको उपस्थिति अत्यन्तै न्यून छ । बैठकमा उपप्रधान एवम् गरिवी निवारणमन्त्री चित्रबहादुर केसीसहितका सरोकारवाला मन्त्रालयका मन्त्रीहरूको उपस्थिति रहे पनि सांसदहरूले छलफलमा रुचि नदेखाएका हुन् ।
बैठक हलमा रहेका सांसदहरू पनि कोही निदाएका देखिए । कोही कुराकानी गरिरहेका अवस्थामा संसदको टेलिभिजनमा दृश्य देखिएको छ । कोही सांसद भित्रबाहिर गरिरहेको दृश्य देखिएका छन् ।
मुलुकको बजेट अर्थात विनियोजनमाथिको छलफलमा जसरी ध्यान दिएर सांसदहरू भाग लिनुपर्ने हो त्यो नपाइएको हो । संसद सचिवालय स्रोतका अनुसार छलफलमा भाग लिन चाहने सांसदहरूले रुचि देखाएर नाम टिपाउने गरेका छैनन् ।
आइतबारको बैठकका लागि विनियोजन विधेयक, २०७३ को विभिन्न शीर्षकहरूमाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ । आपूर्ति, उर्जा, सहकारी तथा गरिबी निवारण, महािल, बालबालिका तथा समाज कल्याण, रक्षा, परराष्ट्र, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय, मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका विनियोजन शीर्षमाथि छलफल भइरहेको छ ।













प्रतिक्रिया