सुरेश शाही
न्युयोर्क । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रिय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ ।
१५ लाख रुपैयाँ संकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झण्डै २१ लाख रुपैयाँ संकलन भएको कार्यक्रमका आयोजक एवं आईसीसी सदस्य एसी शेर्पाले जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपस्थित नेपालीहरुले स्वतस्फूर्तरुपमा सहयोग रकम घोषणा गरेका हुन् । थोरै नेपालीको बसोबास रहेको वासिङटनको सानो क्षेत्र सियाटलबाट अपेक्षा भन्दा निकै बढि र उत्साहजनकरुपमा रकम संकलन भएको छ ।
एनआरएनए भवन निर्माणका निम्ति सेभेन समिट्स फाउण्डेशनले एनआरएनएसँग सहकार्य गर्दै फण्ड रेजिङ कार्यक्रमको आयोजना गरेको हो । सेभेन समिट्स फाउण्डेशनले यसअघि पनि नेपालका विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आएको छ । आइसिसी सदस्य एसी शेर्पाको संयोजनमा भएको सो कार्यक्रममा एनआरएन अमेरिकाका पिआरओ तथा स्पोक्स पर्शन नारायण गुरुङ संयोजक हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै आईसीसी अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । सोही अभियान अन्र्तगत आफ्नै कार्यालय भवन निर्माण अत्यन्तै जरुरी भएकाले आफुले बिश्वभरका नेपालीको अपनत्व हुनेगरि रकम संकलन अभियान सुरु गरेको उहाँले बताउनुभयो । एनआरएनको नेतृत्वले गरिरहेका बिभिन्न काम र आफ्ना कार्ययोजनाबारे जानकारी दिँदै उहाँले यो अभियानमा आफुलाई सहयोग गर्न अमेरिकामा रहेको गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो ।
एनआरएन आईसीसी सदस्य एसी शेर्पाको आयोजनामा भएको सो डिनर कार्यक्रममा अमेरिका क्षेत्रीय उपसंयोजक सोनामा लामा, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारी, क्यानडाका आईसीसी सदस्य बिनोद केसी, आईसीसी सल्लाहकार राम खरेल, एनआरएनका संरक्षक डा. अम्बिका अधिकारी, अमेरिकी डेमोक्रेटिक पार्टीका सदस्य दर्शन रौनियार, १५ पटकसम्म सगरमाथा आरोहण गरेका लाक्पा शेर्पा, अमेरिकाका सफल व्यवसायी कर्मा शेर्पा तथा एनआरएन आईसीसी र एनसीसी सदस्यहरुको उपस्थीति थियो । यसैबिच कार्यक्रमको पहिलो दिनमै सोचे भन्दा धेरै रकम संकलन भए पछि एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले सम्पूर्ण सहयोग दातामा धन्यबाद ज्ञापन गर्नुभएको छ । क्षेत्रीले एक बिज्ञप्ती जारी गर्दै धन्यबाद ज्ञापन गर्नुभएको हो ।














प्रतिक्रिया