२९ आश्विन २०८३, बिहिबार

सुरक्षा चासोसहित चिनियाँ सैनिक टोली नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinaकाठमाडौं, ३० साउन । चिनियाँ सेनाको उच्चस्तरीय टोलीले संघीय संरचनासहितको नेपालमा कस्तो अध्यागमन व्यवस्था उपयुक्त हुन्छ भन्‍ने विषयमा लिखित सुझाव दिएको छ।

चीन सरकारको बोर्डर कन्ट्रोल विभागका उपप्रमुख एवं जनमुक्ति सेनाका मेजर जनरल चाउ सुखईको नेतृत्वमा आएको पाँच सदस्यीय सैनिक टोलीले बिहीबार आफ्नो सुरक्षा चासोसहितको सुझाव गृह मन्त्रालयलाई बुझाएको हो।

जनरल चाउको टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम र गृहसचिव सूर्य सिलवालसँग छुट्टाछुट्टै तथा गृहका सहसचिव लक्ष्मीप्रसाद ढकाल नेतृत्वको टोलीसँग द्विपक्षीय वार्ता गरेको छ।

चिनियाँ सुरक्षा चासोसहितको सुझाव अध्ययन गरी कूटनीतिक माध्यमबाट प्रतिक्रिया पठाउने जानकारी वार्ताका क्रममा नेपाल पक्षले दिएको छ। स्रोतका अनुसार सुझावमा प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने दुई देशबीचका सीमालाई व्यवस्थित गर्ने उल्लेख छ।

वार्तामा चिनियाँ बोर्डर प्रहरी प्रमुख चाङ कनहङ र तिब्बतको बोर्डर प्रहरीका कमान्डर मेजर जनरल काओ वान हाई पनि सहभागी थिए। राज्यमन्त्रीस्तरीय शिष्टाचार सुविधाको माग गर्दै नेपाल आएको यो टोलीले गृह मन्त्रालयमा सचिवस्तरीय वार्ता हुनुपर्ने माग गरे पनि सहसचिवस्तरमा कुराकानी भएको हो।

सहसचिवस्तरको वार्तामा चिनियाँ टोलीले आफ्नो सुरक्षा चासो स्पष्टसँग राखेको थियो। नेपाली वार्ताटोलीका प्रमुख सहसचिव ढकालले दुई देशबीच सीमा सुरक्षा सुदृढ बनाउने र सूचना आदानप्रदान गर्नेबारे छलफल भएको बताए।

ओलम्पिक खेलताका र त्यसयता चीनविरोधी गतिविधि नियन्त्रण गर्न नेपालले सहयोग गरेकोमा प्रशंसा गरेको चिनियाँ टोलीले तिब्बती धर्मगुरु दलाई लामा र उनको समूह तथा चीनविरोधी पश्चिमा देशको समूहले नेपालको भूमि प्रयोग गर्ने गरेको आरोप लगाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।