२९ आश्विन २०८३, बिहिबार

डिआइजी बढुवामा गृहमन्त्री र मुख्य सचिववीच चर्काचर्की, को-को भए बढुवा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev & Lilamaniकाठमाडौं, ३० साउन । उप्रधान एवं गृहमन्त्री वामदेव गौतम र सरकारका मुख्‍य सचिव लीलामणि पौड्यालबीच दुई घन्टा लामो विवादपछि मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल प्रहरीको एआईजीमा दुई दरबन्दी थप गरी नौजनालाई बढुबा गरेको छ। यस विषयमा मन्त्रिपरिषद् लामो समयदेखि अनिर्णीत थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म बसेको बैठकले बढुवा पुनरावलोकन समितिले अयोग्य ठहर्‍याएका दुईजनासमेत नौजनालाई बढुवा गरेको हो।

प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा हुनेमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, नारायण बास्ताकोटी, गणेश राई, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ र केदारप्रकाश साउद छन्।

गृहसचिव सूर्यप्रसाद सिलवाल अध्यक्ष रहेको बढुवा समितिले भण्डारी, शाह, शर्मा, थापा, बज्राचार्य, श्रेष्ठ र साउदलाई बढुवा गर्न सिफारिस गरेको थियो।

तर लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी संयोजकत्वको पुनरावलोकन समितिले बज्राचार्य र साउदको नम्बर नपुगेको भन्दै उनीहरूका ठाउँमा नारायण बास्ताकोटी र गणेश राईलाई बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा समितिको सिफारिसअनुसार हुनुपर्ने अडान लिँदै आएका गृहमन्त्री गौतमले सोही प्रस्ताव पारित गर्न बैठकमा पेस गरेपछि मुख्यसचिव पौड्यालले विरोध गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

उनीहरूबीचको विवादपछि केही मन्त्रीले एआईजीका सात दरबन्दीमा दुई थपी नौजनाकै बढुवा गर्ने प्रस्ताव गरेको एक मन्त्रीले बताए। केही मन्त्रीले त १३ जनै डीआईजी बढुवा हुने गरी दरबन्दी सिर्जना गर्न प्रस्ताव गरेका थिए।

अन्त्यमा प्रधानमन्त्री सुशील कोइरालाले दुई दरबन्दी थपी नौजनालाई बढुवा गर्ने प्रस्ताव राखेपछि सोहीअनुसार निर्णय भएको थियो।