१ कार्तिक २०८३, शनिबार

न्यूयोर्कमा काबुल आक्रमणका ज्यान गुमाएकाको सम्झना

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photo (7)– अनुज थापा

न्यूयोर्क । “यस्तो घटना हुन अब बन्द हुनुपर्छ । निर्दाेष व्यक्तिहरुको हत्या अब बन्द गर्नैपर्छ । ”
५४ वर्षे गैरनेपाली एड्विन सोसार जुन २५ को सांझ संचारकर्मीसंग यसरी प्रतिक्रिया दिदैं थिए । प्रसंग थियो गत साता अफगानिस्तानमा आत्मघाती हमलामा परि दिवंगत भएका १३ नेपालीहरुको संझनाको कार्यक्रम ।

न्यूयोर्क शहरको ज्याक्सन हाइट्समा रहेको डाइभर्सिटी प्लाजामा मैनबत्ती बालेर मृत आत्माहरुको चिर शान्तिको कामना गरिदैं थियो । उक्त भीडमा सोसार पनि श्रद्धाञ्जली दिन पुगेका थिए । ह्विलचियरमा आएका उनको नेपालसंग गहिरो सम्बन्ध छ । नेपाली महिलासंग विवाह गरेका उनले नेपाललाई आफ्नो पनि घर ठानेका छन् । त्यसैले नेपाल र नेपालीलाई केहि हुंदा उनको पनि मुटु दुख्छ ।

“यो एकदमै निन्दनिय घटना हो र यस्तो घटना सदासदाको लागि अन्त्य हुनुपर्छ ,” उनले आक्रोश मिश्रित संवदेना पोखें ।

उक्त दिन करिब ५० भन्दा बढी नेपालीहरु भेला भई ती दिवंगत आत्माहरुको चिर शान्तिको कामना गरेका थिए ।

गैर आवासिय नेपाली संघ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा संघका महासचिव तिलक श्रेष्ठले भन्दै थिए – “यस्तो घटना फेरी नघटोस् । आतंकवाद संसारबाट छिट्टै खत्तम होस् । ”
श्रद्धाञ्जली कार्यक्रममा सञ्चारकर्मीसंग बोल्दै न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावासका कन्सुल जनरल कृष्णकुमार सुवेदीले उक्त दुखद घटनाको निन्दा गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना दिए। “मलाई लाग्छ नेपाल सरकारले अब यस घटनापश्चात आफ्नो वैदेशिक रोजगारसम्बन्धी नीतिमा परिवर्तन गर्नेछ ,” सुवेदीले थपे ।

अफगानिस्तान घटनालगतै नेपाल सरकारले अफगानिस्तान कामदार पठाउन प्रतिबन्ध लगाएको छ । त्यस्तै, यसअघि प्रतिबन्ध लगाइएको देशहरुको प्रतिबन्धलाई पनि कायम राखेको छ । यसअघि सिरिया, लिबिया र इराक कामदार पठाउन नेपालले निषेध गरेको थियो ।