३० आश्विन २०८३, शुक्रबार

रकम अभावले कैदीको उपचारमै समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaidhi-jaalजनकपुरधाम, २९ साउन । महोत्तरीको जलेश्वर कारागारमा रकम अभावका कारण दीर्घरोगी कैदीको भरपर्दो उपचार हुन सकेको छैन ।

सामान्य रोगबाट प्रभावित भएका कैदीलाई जलेश्वर अस्पताल, जनकपुर अञ्चल अस्पताल तथा निजी क्लिनिकमा उपचार गर्न सकिए पनि दीर्घरोगी कैदीको रकम अभावको कारण भरपर्दो उपचार भने हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।

कतिपय कैदी कारागार आउनुभन्दा पहिलेदेखि नै दीर्घरोगका सिकार भएका हुन्छ र कारागार आएपछि झन् उनीहरु सिकिस्त हुने भएकाले उनीहरुका लागि छुट्टै रकम नभएकाले भरपर्दो उपचार हुन नसकेको जेलर शोभेन्द्र ठाकुरले बताउनु भयो ।

दस जना यस्ता दीर्घरोगी छन् जसको उपचार खर्च अत्यधिक लाग्नेछन् तर रकम अभावको कारण उनीहरुको भरपर्दो उपचार हुन नसकेको जेलर ठाकुरको भनाइ छ ।

यसबारेमा गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई बारम्बार पत्र लेखे पनि उनीहरु गम्भीर नभएकाले दीर्घरोगका कैदी भरपर्दो उपचार सेवाबाट वञ्चित हुने गरेका छन् ।

एक सय ५५ वर्षको लामो इतिहास बोकेको जलेश्वर कारागारमा हाल ४७४ जना कैदी–बन्दी रहेका छन् । १३५ जना कैदी–बन्दी राख्ने क्षमता रहेको सो कारागारमा महिला ३५, पुरुष ४३५ र चार आश्रित बालबालिका रहेका छन् ।

एक करोड ७५ लाख वार्षिक बजेट रहेको सो कारागारमा सरकारले कैदीलाई सिधा खर्चबापत प्रतिदिन ४५ रुपियाँ र ७०० ग्राम चामल दिने गर्दछन् जुन खानामै सकिन्छ भने हाम्रो रोगको उपचार कसरी हुने कैदीको भनाइ रहेको छ ।

कैदीले विभिन्न प्रकारको घरेलु तालिम लिए पनि कारागारभित्र ठाउँ अभावका कारण उद्योगधन्दा नचल्दा थप आर्थिक भारमा परेको उनीहरुको गुनासो छ ।

पर्याप्त बजेट अभावको कारण जेनेरेटर, सोलार, सिसी टिभी क्यामरा, भेपरलाइट, भवनको अभाव, बिजुली, शौचालय, खानेपानीजस्ता समस्याबाट ग्रसित रहेको जलेश्वर कारागारको सुरक्षा व्यवस्थासमेत भरपर्दो नभएको कारागार प्रशासनको भनाइ छ ।

धनुषा, महोत्तरी तथा सर्लाहीका गरी ४ सय ७४ जना कैदी–बन्दीलाई प्रहरी नायब निरीक्षकको नेतृत्वमा २५ जनाले मात्र सुरक्षा दिने गरेकाले कारागार प्रशासनले थप सुरक्षाका लागि सशस्त्र प्रहरीको माग गरेको छ ।

ठाउँ अभावको कारण एक वर्षमा करिब २ सय जना कैदी–बन्दीलाई रामेछाप, उदयपुर, सुनसरीको झुम्का, सप्तरी, सिरहा, इलाम, काठमाडौं, ललितपुर, भद्रपुर लगायतका कारागारमा सारिए पनि जलेश्वर कारागारभित्र कैदी–बन्दीको चाप बढ्दै गएको छ ।

महँगाईअनुसार सरकारले कैदी–बन्दीलाई दिँदै आएको रासनखर्चमा बढोत्तरी गर्नुका साथै दीर्घरोगबाट प्रभावित रोगीको उपचार खर्चको समेत व्यवस्था गर्नुपर्ने माग कैदीको रहेको छ ।