
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अहिले मुलुकभरि कालोबजारी, भ्रष्टाचार र तस्करीका विरुद्ध भन्दै कारबाहीको आन्दोलन चलाएको दाबी गर्दै आएको छ । चुनावहरूमा खासै रुचि नराख्ने माओवादीले आफ्नो राजनीतिक कार्यदिशालाई कसरी अगाडि बढाएको छ ? र के के गर्दैछ भनेर सबैतिर चासो बढ्दै गएको छ । राष्ट्र र राष्ट्रियताका पाक्षमा पनि आन्दोलन गरेको जनाउने विप्लव माओवादीका उपत्यका इञ्चार्ज तथा पोलिट ब्यूरो सदस्य सन्तोष बुढा मगरसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीः
० तपाईको पार्टीले स्थानीय निकायको चुनवामा भाग लिन्छ कि लिँदैन ?
– यो सरकारले स्थानीयको निर्वाचनलाई हल्ला गरिरहेको छ । हामी सरकार र यो संरचनभन्दा बाहिर रहेकाले नीतिगत र अहिलेकै सोँचगत हिसावले बाहिर छौँ । यो राज्यसत्तासँग टचमा छैनौँ । निर्वाचनको कुरा बेमौसमको हल्ला हो । हामीले दोस्रो संविधानसभाको निर्वाचन नै बहिष्कार गरेर आएका हौँ । त्यस पछाडिको प्रक्रियामा सरकारको कुनै पनि नीति र संरचनामा सहभागी छैनौँ । संविधानसभा दुई भनिएको निर्वाचनलाई नै बहिष्कार गरेर आएको हुनाले अबको चुनावमा भाग लिने भन्ने त प्रश्नै रहँदैन ।
० त्यसो भए स्थानीय निकायको चुनाव हुन दिनु हुन्न ?
– दोस्रो संविधानसभा निर्वाचन साम्राज्यवादी र बाह्य शक्तिको योजनामा भएको थियो । यसबाट परिणाम जनताको पक्ष आएन र हामीले आउँदैन नै भनेका थियौँ । अन्त्यम त्यही भयो । त्यही संविधानसभाबाट बनेको संविधानलाई बैधता दिन स्थानीय निकायको चुनाव भनिएको छ । यो संविधान जनताको पक्षमा नै छैन । हामीले कसरी भाग लिने ?
० तपाईहरू कुनै पनि हालतमा चुनाव हुन नदिने र संविधान कार्यान्यन नगर्ने पक्षमा हुनुहुन्छ है ?
– चुनाव जनताको पक्षमा हुने कुरै भएन । जनताको संविधानसभा विघठन गरेर आफ्नै संविधानसभा बनाए आफ्नै सत्ता बनाए आफ्नै सरकार बनाए आफ्नै संविधान बनाएर त्यो संविधानलाई पूर्णता दिनको निम्ति स्थानीय निर्वाचनको कुरो भइरहेको छ । यो निरन्तर गरिएको गरिएको कुरा हो । हामी निर्वाचनप्रति सहमत छैनौँ । यो निर्वाचनको कुनै औचित्य छैन । यो निर्वाचनलाई प्रतिगामीहरूले आफ्नो प्रतिगमनका कदमहरूलाई पूर्णता दिन चालिने उनीहरूको अन्तिम कदम हो । हामीले यसरी बुझेका छौँ । हामीले उहीले नै बहिष्कार गरेका हौँ । निर्वाचनप्रति सकारात्मक हुँदैनौँ । यो निर्वाचनलाई साथ समर्थन हुँदैन । आफूले अस्वीकार गरेको विषयमा के को सहयोग र असहयोग ।
० अहिलेको सरकार वामपन्थीहरू हाबी छ भन्छन् नि ?
– यो सत्तामा प्रतिगामी र यथास्थितिवादी शक्तिहरूको गठजोड छ । त्यही गठजोडबाट बनेको सरकार हो । राजालाई राख्नुपर्छ, फेरिल्याउनु पर्छ भन्ने र अर्कोतिर हिन्दु अधिराज्य नै घोषणा गर्नुपर्छ भन्ने टाइपका मान्छेको सरकार हो । राजा र हिन्दु राष्ट्र चाहिन्छ भनेर चुनावमा भाग लिएकाहरू सहभागी सरकार हो । यसमा प्रतिगामी र यथास्थितिवादीहरू सहभागीहरूको सरकार हो ।
० तपाईहरूले सरकारको मूल्यांकन कसरी गर्नुभएको छ ?
– हिजो पनि संवैधानिक राजतन्त्र हुनुपर्छ भन्नेहरू । ०४७ सालकै संविधान नै संसारकै उत्कृष्ट संविधान भन्ने कांग्रेस, एमाले पनि यहि संरचनामा छन् । यो संविधान प्रतिक्रियावादी हो भनेर जलाउने ‘प्रचण्ड’ जस्ता मान्छेहरू पनि त्यहिँ गएका छन् । अहिलेको संसदीय व्यवस्स्थालाई संरक्षण गर्ने संसदीय व्यवस्थाका हिमायतीहरू संसदवादी राजनीतिक दलहरू यहिँ छन् । यथास्थितिवादी दल भनेका कांग्रेस, एमाले र माओवादी केन्द्रलाई भनेको छु । यिनीहरू अहिलेका यथास्थितिवादी राजनीतिक पार्टीहरू हुन् । हिजोका राजावादी शक्तिहरू अहिले पनि प्रतिगामी कुरा गरिरहेका छन् । तिनीहरू प्रतिगामी शक्ति हुन् । यी दुईको गठजोडमा अहिलेको सत्ता बनेको छ । संविधान बनेको छ । सत्ताको स्वरुप नै प्रतिगामी छ ।
० अहिलेको सत्ता प्रगतिशील पनि छ भन्छन् त ?
– यो समीकरण पनि प्रतिगामी छ र प्रतिगामी सत्ताले गर्ने र अगाडि सार्ने कुनै पनि कुरा अहिले नेपाली जनताको पक्षमा छैन । त्यस्तो प्रतिगामी चरित्र बोकेको सत्ताले गर्ने भनेको काम कुनै पनि जनताको पक्षमा हुँदैन ।
० प्रचण्ड र बाबुराम भट्टराई कता जानु भयो ? तपाईहरू कता हुनुहुन्छ ?
– राजनीतिक कार्यदिशालाई लिएर माओवादी तीन÷चार वटा खेमामा विभाजित भएका छन् । दस वर्षको महान जनयुद्धमा हामीसबै माओवादी पार्टीहरू एक ठाउँमा थियौँ । शान्ति प्रक्रियामा आयौँ पनि । शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड र बाबुराम भट्टराईले बिद्रोहको कार्यदिशा भनेर अगाडि आउनुभयो । त्यहँसम्म हामी सँगसँगै थियौँ । जन बिद्रोहको कुरा पनि छाडेर शान्ति र संविधान भनेर अहिल पर पुग्नुभयो, उहाँहरू । जनयुद्धको कार्यदिशालाई छाडेर उहाँहरू शान्ति र संविधानमा पुग्नुभयो । त्यसपछि हामी बाहिरियौँ । उहाँहरू शान्ति र संविधानको कार्यदिशालाई कार्यान्वयन गर्न क्रममा उहाँहरू वीचमा नै कार्यदिशा मिलेन । बाबुरामको नयाँ शक्ति र प्रचण्डको माओवादी केन्द्र बन्न पुगेको छ । प्रचण्ड शान्तिको कार्यदिशामा जानु भयो । हामी जनवादी गणतन्त्र स्थापना गर्ने भनेर आएका हौँ ।
० जनयुद्ध गर्दाका प्रतिवद्धता तपाईहरूले भुल्नु भएको हो ?
– जनयुद्ध सुरू गर्दै गर्दा तेस्रो विस्तारित बैठकमा हामीसँग तत्कालीन अध्यक्ष ‘प्रचण्ड’ले सात बुँदे प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । तर, सबै प्रतिवद्धता उहाँले भुल्नु भयो । वीचमा धोका दिएर छाड्नु भयो । हामीले नेपालमा सामन्तवादी व्यवस्था छ भनेका थियौँ । अर्धउपनिवेशिक व्यवस्था रहेको नेपालमा मुख्यतः सामन्ती व्यवस्थालाई अन्त्य गर्नुपर्छ भनेका थियौँ । प्रचण्डले सात वटा प्रतिवद्धता जनाए पनि सबै भुल्नु भएको छ । वीचमै सबै प्रतिवद्धता छड्नुभयो । प्रचण्ड प्रतिवद्धताबाट चिप्लिनु भएको छ । हामीले बचाउने प्रयास गरेका छौँ । हामी त्यही प्रतिवद्धतामा उभिएका छौँ । हामीले क्रान्तिकारी विचारलाई बचाएका छौँ । प्रतिवद्धता छाडेर प्रचण्डले जनसेना विघठन गर्नुभयो, क्रान्तिको झण्डा ढाल्नु भयो, संसदीय व्यवस्थामा भासिनु भयो । तर हामीले त्यस बेलाको प्रतिवद्धतालाई अहिले पनि बचाइ राखेका छौँ ।
० तपाईहरूले सधैँ संसदीय व्यवस्थालाई किन गाली गर्नु हुन्छ भन्या ?
– संसदीय व्यवस्था साम्राज्यवादी विस्तारवादको खेल्ने संरचना हो । त्यसैसँग संसदीय व्यवस्था जोडिएको छ । राजतन्त्र र सामन्तवाद र साम्राज्यवादी संयन्त्रलाई राजतन्त्रमा जोडेर बनाइएको राजतन्त्रात्मक संसदीय व्यवस्था नेपाली जनतालाई ठग्ने र नेपाली जनतामा दमन गर्ने सत्ता हो । यही व्यवस्थामार्फत नेपाललाई स्वतन्त्र हुन नदिन विदेशी षड्यन्त्र भइरहेको छ ।
० किरण नेतृत्वको माओवादी किन छाड्नु भएको हो ?
– राजनीतिक कार्यदिशामा मतभेद हुँदै आउँदै गर्दा ‘किरण’को नेतृत्वमो ड्यास माओवादी भयौँ । किरणसँग पनि कार्यदिशामा मतविभन्नता रह्यो । हामीले एकीकृत कार्यदिशा अगाडि सा¥यौ । तर, किरणले हुँदैना भन्नुभयो । त्यसपछि नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नयाँ क्रान्तिको थालनी गरेका हौँ ।
० कहाँ कुरा विग्रियो त ? र अहिलेको कार्यदिशा नि ?
– एकीकृत कार्यदिशामा जान हामीले भन्यौँ । कि जनयुद्ध भन्नु पर्छ । कि जनविद्रोह भन्नुपर्छ । दुई वटामध्य एउटा भन्नुपर्छ भन्ने हाम्रो मान्यता थियो । किरणले एकीकृत कार्यदिशामा असहमति जनाउनुभयो । हाम्रो कार्यदिशामा नमिलेपछि आफ्नो कार्यदिशामा अगाडि बढाउ न त भनेर ‘विप्लव’को नेतृत्वमा नेकपा माओवादी गठन गरिएको हो । यहाँसम्म आउदासम्म शान्ति पूर्ण र क्रान्तिकारी कार्यदिशा हाम्रो रह्यो । क्रान्तिकारी कार्यदिशाभन्दा अर्को बाटोबाट नेपालमा परिवर्तन सम्भव छैन । क्रान्तिकारी कार्यदिशाबाट मात्रै परिवर्तन नै हुन्छ । शान्तिपूर्ण तरिकाले त एमालेले भने जस्तै क्रान्ति हुनु पर्ने हो नि भएन । नेपालमा क्रान्तिभन्दा अर्कोबाट परिवर्तन हुँदैन ।
० प्रचण्डहरूको कार्यदिशा के हो नि ?
– संसदीय धारको कुरा प्रचण्डले गर्नु हुन्छ । क्रान्तिकारी जरुरी छैन भन्नु हुन्छ । प्रचण्डको यो संसदीय धार हो । उहाँ विचलित हुनुहुन्छ । उहाँहरू गोलमटोल हुनुहुन्छ ।
० किरणहरूको अवस्था के छ नि ?
– कार्यदिशालाई लिएर किरण पनि अलमलमा पर्नुभयो । अहिले बेला भएको छैन भन्नुभयो । हामीले भन्यौँ, अहिले सम्भव छ वा छैन भन्ने होइन । क्रान्तिकारी धारणाबाट उभिएर ‘पोल’का रुपमा खडा गर्ने हो । अहिले सम्भव छैन भनेपछि किरणलाई छाडेर आयौँ । किरण अहिले पनि अलमलमा हुनुहुन्छ । अलमल भएर बसेपनि आन्दोलनलाई गद्दारी गर्नुभएको छैन । प्रचण्डले गद्दारी गर्नुभएको छ । प्रचण्डको अन्तिममा एमालेको पुच्छरवादी धार हो । एमालेमा कुनै पनि दिन पुग्नु ुहनेछ ।
० एकीकृत क्रान्ति भनेको के हो नि ?
– एकीकृत क्रान्तिको कार्यदिशा जनविद्रोहो पनि होइन । जनयुद्ध पनि होइन । नेपालमा नयाँ मोडलको कार्यदिशामा छौँ, हामी । नेपालमा सबै शक्तिलाई मिलाएर गरिने क्रान्तिको नयाँ मोडल हो । नयाँ मान्यता र वर्ग विश्लेषणमा छौँ । प्रचण्ड विचलनवादी हुनु भयो । बाबुराम भट्टराई माओवादीबाट पलायन हुनु भयो । पलायन हुनु बाबुरामको इमान्दारिता हो । प्रचण्डले माक्र्स र एंगेल्सको तस्बिरमा अर्को व्यापार गर्दै हुनुहुन्छ । भ्रम छर्दै हुनुहुन्छ । विप्लवले नयाँ मोडलको खाका दिनुभएको छ । मेरो दिमागमा क्रान्तिभन्दा अरु केही छैन । त्यसैले क्रानितकारी दिशा वैज्ञानिक र नेपाली समाजको धरातल वातावरणअनुसार सुहाउँदो विप्लवले विचार अगाडि सार्नुभएको छ ।
० तपाईको दुश्मन को हो ?
– नेपालमा दलाल पुँजीतन्त्र छ । दलाली पुँजीको हालिमुहाली छ । राजनीतिमा यसको प्रभाव छ । नेताहरू दलाली गर्ने गर्छन् । जसले भ्रष्टाचार, कालोवजारी, तस्करी, गण्डागर्दीलाई संरक्षण र पश्रय दिन्छ त्यो हाम्रो दुश्मन हो । राष्ट्रिय स्वाधीनता र राष्ट्रियता विरोधीहरू हाम्रा दुश्मन हुन् । देशभक्तहरू हाम्रा मित्र शक्ति हुन । तर विपक्षमा जानेहरू देशका दुश्मन हुन् हामीले पनि उनीहरूलाई दुश्मनको कित्तामा राख्छौँ ।
० पार्टी एकता हुन्छ कि हुँदैन ?
– पार्टी एकताको कुरो अहिले छैन । पार्टी ध्रुबीकरण हुनुपर्छ भन्ने हाम्रो धारणा छ । संसदवादी र क्रान्तिकारीवीचको ध्रुवीकरण आवश्यक छ । अहिले नै पार्टी एकता आवश्यक छैन । अहिलेको परिवेशमा विप्लव माओवादी ठीक छ ।
० विप्लव माओवादी चीनको पिछलग्गु हो ?
– हामी चीनको पिछलग्गु होइनौँ । चीनले आफ्नो देशमा कहिले काहिँ बोलाउँछ । हामी जाने गरेका छौँ । त्यस बेला समसामयिक विषयमा कुराकानी हुन्छ । लिपुलेकको बारेमा नेपालीलाई नसोधेर किन भातरसँग सम्झौता गर्नुभयो भनेका छौँ । चीनले हामीले कमजोरी गरेका छौँ भनेको छ । त्यसलाई सच्चाउँछौँ भनेको छ । भारतले चीनको भनाइ विपरीत ठीक गरेका छौँ भनेको छ । भारतले हस्तक्षेपको कुार गरेको छ ।
हामी सत्तामा गयौँ भने भारत र चीन विरोध हुने छैनौँ । र अहिले पनि छैनौँ । दुबै देश नजिकका छिमेकीलाई चिडाउनु हुँदैन । हामी भारतको विरोधी होइनौँ । भारतको हस्तक्षेको विरोधी मात्रै हो । हामी जहाँ विरोध हुन्छ त्यहाँ विरोध गरेका हौँ । दुबै देशसँग मित्रवत कुरा हुनुपर्छ ।
० एनसेलसँग कहाँ कुरा विग्रियो ? के हो समस्या ?
– एनसेलले नेपाली जनताको ४६ अर्ब रुपियाँ कर तिरेको छैन । त्यो रकम तिनुपर्छ । अटेर गरेको छ । भ्रष्टाचार, कालोबजारीबाट एनसेलले नेपाली जनताको करोडौँ रुपियाँ डुबाउन चाहन्छ । कसैले एनसेल वा भ्रष्टाचारीलाई कारबाही गर्छ भने हाम्रो समर्थन रहन्छ । एनसेलका बारेमा धेरै अगाडिदेखि हामीले बोल्दै आएका छौँ । ४६ अर्ब कर नेपाललाई तिर भनेका छौँ । कर छलेर नेपाली जनताको टाउकोमा २१ हजार ऋण थप्रिएको छ । जनता भोकै मर्नुपरेको छ । पालमुनि सुतेका छन् । नेपाल सरकारको कुनै बेलाको वार्षिक बजेट जति रकम एनसेलले कर तिर्नुपर्ने छ । यस्तो अवस्थामा कर नतिर्ने एनसेललाई जनताले कारबाही गरेका हुन् । त्यसमा हाम्रो समर्थन छ । एनसेलसँग चन्दा मागेका छैनौँ । एनसेलसँग बार्गेनिङ गरेका पनि छैनौँ । एक पैसो पनि ल्याएका छैनौँ ।
० विप्लव माओवादी फुटेको हो ?
– फुटेको छैन । तिलक परियार एकजना यहाँ काम गर्न सक्दै भनेर जानु भएको हो । बुढो मान्छे हुनुहुन्छ जानु भो । पार्टीबाट भागेको भनेर त नभनौँ । यहाँ काम गर्न नसकेर जानुभएको हो । त्यहाँ जागिर पाउने भएर जानु भएको होला ।
० तपाईहरू भूमिगत हुने कहिले हो ?
– दमन भयो भने प्रतिरोध गर्ने भनेका छौँ । भूमिगत हुने कुनै योजना छैन । सरकारले बाध्य बनायौ भने भूमिगत हुनु पनि पर्छ ।
० अहिले पनि समानान्तर सरकार किन चलाउनु भएको हो नि ?
– अहिले समानान्तर सरकार भनेका छैनौँ । हामीलाई नै यो सरकारले सत्ताभन्दा बाहिर राखेको छ । माओवादीको मुलधार हामी हौँ । हामीलाई सत्ताभन्दा बाहिर राखियो भने वा बाइकट गर्न खोजियो भने राम्रो हुँदैन । विप्लव माओवादीलाई बाहिर राखेर सत्ता चलाउने हो भने उचित हुँदैन । जनपरिषदको नाममा जनपरिचालन मात्रै गरेका छौँ ।













प्रतिक्रिया