काठमाडौं, १३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चौथो दिन सोमबारपनि व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।
घर निर्माणका लागि भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने माग राख्दै कांग्रेसका सांसदहरुले दिउँसो १ बजे सुरु भएको बैठक अवरुद्ध पारेका हुन् ।
आजको बैठकमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महत बोले । उनले आफू अर्थमन्त्री भएको बेला विश्व बैंकसँग ऋण सम्झौता गर्दा भूकम्प पीडितलाई चार किस्तामा रकम दिने शर्त स्वीकार गर्दै त्यो फरक सन्दर्भ भएको दाबी गरे । वर्तमान सरकारको अकर्मण्यताका कारण संसद बैठक अवरुद्ध गर्न आफूहरु बाध्य भएको बताउँदै यो सरकारले यही गतिमा काम गरे अझैं ५ वर्षसम्म पीडितले राहत नपाउने उनको भनाई थियो ।
संसदमा जवाफ दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिई कांग्रेस सांसदहरु आआफ्नो ठाउँबाट उठेपछि सभामुख ओनसरी घर्तीले दिउँसो साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिन् ।













प्रतिक्रिया