२९ आश्विन २०८३, बिहिबार

तेह्रदिने मृत्युसंस्कार छोट्ट्याउन अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pujari-conchleftकाठमाडौं, २९ साउन । हिन्दु धर्ममा आस्था राख्‍ने केही पाका र प्रतिष्ठित व्यक्तित्वले आफ्नो मृत्युसंस्कार छोटो गर्न आफन्तसमक्ष इच्छा व्यक्त गरेका छन्। तेह्रदिने संस्कार खर्चिलो र आफन्तका लागि कष्टकर हुने भन्दै उनीहरूले बढीमा पाँच दिनमै आफ्नो मृत्युसंस्कार पूरा गर्न आग्रह गरेका हुन्।

पूर्वमन्त्री हरिबहादुर बस्नेत मृत्युसंस्कार १३ दिन नै गर्नुपर्छ भन्ने पक्षमा छैनन्। उनले छोरा अनुपलाई लेखेरै दिएका छन्, धर्मशास्त्रले गर्नैपर्ने कुरा जतिसक्दो छोट्ट्याएर गर्नू तर १३ दिन किरियापुत्री नबस्नू। उनले तीन वा पाँच दिनमा किरिया सके हुने बताएका छन्। अनुपले पनि सोहीअनुसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बस्नेतले ९० प्रतिशतभन्दा बढीले देखाउनका लागिमात्रै १३ दिने मृत्युसंस्कार गर्ने गरेको बताए। उनले भने, ‘समाजलाई देखाएरमात्र केही हुन्न। जुन ढंगले बस्नुपर्ने हो त्यसरी नबसेपछि के अर्थरु विधि नटुटाई तीन दिनमा पिण्ड र दुई दिनमा अन्य काम सकिने तर्क आएका छन्, म त्यसमा सहमत छु।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसहसचिव डिल्लीरमण आचार्य र पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यका ८३ वर्षीय बुबा दुर्गाप्रसाद र ७९ वर्षीया आमा इन्दिरा पनि १३ दिने मृत्युसंस्कार छोट्ट्याउनुपर्ने पक्षमा छन्।

६ छोरा र ६ छोरीका बुबा दुर्गाले भने, ‘मैले मेरो जुठो तीन दिनभन्दा बार्नु पर्दैन र संस्कार पनि पाँच दिनमा टुंग्याउनू भनेको छु।’ जेठा छोरा डिल्लीरमणले पनि बुवाको इच्छाअनुसार नै आफूहरूले गर्ने बताए। बुवाआमाको निधनपछि पाँच दिनमा काजकिरिया सक्ने विषयमा आफू र मधुरमणले सहमति जनाएको पनि उनले बताए।

मृत्युसंस्कार छोट्ट्याउन क्रियाशील अभियन्ता शंकरप्रसाद पोखरेलले तीन दिनमा १० पिण्ड दिन मिल्ने बताएका छन्। उनका अनुसार पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँच पिण्ड दिन मिल्छ।

त्यसैगरी चौथो दिन ११ औं दिनमा गरिँदै आएको काट्टो खुवाउने, शय्या दान गर्ने र पाँचौं दिन बाह्रौं दिनमा गरिँदै आएको सपिण्डीकरणको काम गर्न सकिने उनको भनाइ छ। यद्यपि, हिन्दू परम्परामा विश्वास गर्ने अर्को पक्ष यसको विरोधमा रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

राजधानीको गोठाटार बस्दै आएका इलामका खगेन्द्रनाथ शर्मा अधिकारीेले पनि छोराछोरीलाई मृत्युसंस्कार छोट्ट्याउन सुझाव दिएका छन्। ८० वर्षीय अधिकारीले भने, ‘मैले त छोराछोरीलाई काम लाग्छ भने शरीर अस्पताललाई दिनू भनेको छु।’