२९ आश्विन २०८३, बिहिबार

कार्यतालिका ननाघ्न तीन दल राजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौं, २९ साउन । संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख तीन दलका शीर्ष नेताबीच माघ ८ भित्रै संविधान जारी गर्न संविधान निर्माण कार्यतालिका ननाघ्ने सहमति जुटेको छ।

संविधानका अन्तरवस्तु र थाती प्रमुख विवादमा सहमति जुटाउन तत्काल छलफल अघि बढाउन समयसीमामै काम सक्न उनीहरु राजी भएका हुन्। उनीहरुले बुधबारबाटै अनौपचारिक छलफल थालेका छन्।

संविधानसभा कार्यतालिकामा भदौ तेस्रो साताभित्र सबै विवादमा सहमति जुटाइसक्नुपर्ने समयसीमा छ।

संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले थालेको ट्र्याक टु वार्ताका क्रममा बुधबार प्रमुख दलका शीर्ष नेताबीच विवादित विषय टुंगोमा पुर्याकउने विधि र प्रक्रियामा छलफल भएको छ।

प्रमुख विवादित विषय राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतमा पार्टीमा आन्तरिक सहमति गरेर भदौ २ गते फेरि छलफल गर्ने दलहरुको तयारी छ।

सभापति भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेतालाई समितिको कार्यालय सिंहदरबारमा बोलाई संविधानका अन्तरवस्तुमा गरिने सहमतिको विधि र प्रक्रियाबारे धारणा माग गरेका थिए। एमाले केन्द्रीय कमिटी बैठकका कारण बुधबारको अनौपचारिक छलफल लामो समय भने चलेन।

कार्यतालिकामा संविधानसभाभित्र र बाहिरका राजनीतिक दलबीच मतभिन्नता रहेका संविधानका अन्तरवस्तुमा राजनीतिक दलसँग छलफल, अन्तरक्रिया गर्ने, बाहिर रहेका दलसँग सहमति कायम गर्ने, राजनीतिक दलबीच मतभिन्नता रहेका विषयमा सहमति कायम गर्ने, छलफलमा उठेका नयाँ विषयमा पनि सहमति गराई समावेश गर्ने समय भदौको तेस्रो सातासम्म तोकिएको छ।

समितिले अहिलेसम्म अघिल्लो संविधानसभाका काम स्वामित्व लिनेबाहेक कुनै पनि विषयमा सहमति कायम हुन नसकेको समाचार आजको नागरिक दैनिकले छापेको छ । संवाद समितिले पूर्वको इलाम र जनकपुरमा विभिन्न सशस्त्र तथा राजनीतिक समूहसँग वार्ता गरे पनि दलहरुबीच देखिएको संविधानका अन्तरवस्तुमा भने सहमति कायम हुन सकेको छैन।