२९ आश्विन २०८३, बिहिबार

विमानस्थलमा ३ गुणाभन्दा बढी मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA-buildingकाठमाडौ, २९ साउन । अन्तर्राष्ट्रिय विमानस्थलभित्रका स्टोर र सप्लायर्सले ३ गुणभन्दा बढी मूल्य लिने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा व्यवसायीले चर्को मूल्यमा सामान बिक्री गरेको भेटिएको हो ।

विभागले बुधबार अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान कक्षका होटल सोनिगा, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, क्लासिक मार्टस, न्यु कन्फेक्सनरी स्टोर र कार्की मल्टिपलसहित ५ स्टोरमा अनुगमन गरेको थियो ।

त्यसक्रममा अधिकांश व्यवसायीले ३ गुणाभन्दा बढी मूल्य लिने गरेको, व्यवसाय दर्ता नगरी साइनबोर्ड नराखी सञ्चालन गरेको, मूल्य नराखेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको भेटिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । यी विषय नखुलाई सामान बेच्नु गैरकानुनी हुने ऐनमा उल्लेख छ ।

विमानस्थलबाट दैनिक ३ हजार आगन्तुक ओहोरदोहोर गर्छन् । ‘व्यवसायीले सयौं गुणा बढी नाफा लिने गरेको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक पुरुषोत्तम सुवेदीले भने, ‘ठगी गर्नेलाई कालोबजारी तथा अन्य सामाजिक अपराधरसजाय ऐन, उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही अघि बढाउनेछौं ।’ उनले मूल्य बढी लिनुपर्ने कारण प्रस्ट पार्न पत्र पठाइने समेत बताए ।

अनुगमनको क्रममा विमानस्थलको आन्तरिक उडान कक्षमा रहेका होटल सोनिगाले सबै सामानमा तीन गुणा बढी मूल्य राखेर बिक्री गरिरहेको पाइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । सोनिगाले ५५ रुपैयाँ पर्ने स्निकर चकलेटलाई २ सय रुपैयाँ, २५ रुपैयाँ पर्ने रियललाई ७० रुपैयाँ, ३५ रुपैयाँ पर्ने एकुवाफाइन पानीलाई १ सय रुपैयाँमा बिक्री गरिरेको छ । करिब ६० रुपैयाँ पर्ने सेभनअपलाई १ सय ५० रुपैयाँ, ६० रुपैयाँ पर्ने मिरिन्डालाई १ सय ५० रुपैयाँमा बेचेको पाइएको छ ।

सोनिगालाई आफ्नै नामको साइनबोर्ड राख्न, साउनको खरिदरबिक्री बिल पेस गर्न, एमरापीभन्दा बढी मूल्य लिनुको कारणसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सोनिगाका ज्ञानु बन्जनले विमानस्थलमा सटरभाडा बढी तिर्नुपर्ने भएकाले बढी मूल्य लिएको बताए । ‘सडर भाडा महँगो छ । स्टाफलाई पनि तलब दिनैपर्‍यो,’ उनले भने, ‘यसैले केही केही महँगो लिएका हौं ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका केन्द्रीय सदस्य नवराज थापाले भाडा महँगोको नाममा उपभोक्तालाई ठग्न नपाइने बताए । ‘महँगो भाडा र भीर्आइपी एरिया भन्दैमा उपभोक्तालाई ठग्न पाइँदैन । आफूलाई मनलाग्दो ट्याग टाँस्न पाइँदैन,’ उनले भने, ‘यो सरासर कालोबजारी हो ।’ उनले विमानस्थलका स्टोरहरूलाई राज्यले व्यवस्थित गर्नुपर्ने बताए ।

अनुगमनका क्रममा विमानस्थल डिपार्चर कक्षमा रहेको कार्की मल्टिपल ट्रेड सप्लायर्सले चर्को मूल्य लिनुको साथै वस्तुको लेबल नखुलाई बिक्री गरेको, म्याद नाघेका लेज, स्प्राइट, कुकिज बिक्री गरेको थियो । सरकारले तोकेको मापदण्डअनुसार प्रिन्ट नभएकाले उक्त स्टोरबाट ७ प्याकेट शिखर चुरोट जफत गरिएको छ ।

विभागले मूल्यसूची टाँस्न, पसलको नाम चिया कफी देखिएकाले स्वीकृत र्फमको नाम राख्न, स्वीकृत वस्तुहरू मात्र बिक्री वितरण गर्न र ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । नागरिक उड्डयन प्राधिकरण सरकारी एक सार्वजनिक संस्थान हो । विमानस्थलमा तौलमा पनि त्यस्तै ठगी हुने गरेको छ । केही दिनअघि विभाग र गुणस्तर तथा नापतौलले गरेको अनुगमनमा नापतौल मेसिन शून्य सेटिङ नगरी जोख्ने गरेको, टोलीले विमानस्थलको गौचरको नापतौल मेसिनमा शून्य सेटिङ नगरी जोख्ने गरेको फेला पारेको थियो ।

पत्रकारलाई रोक

बजार अनुगमनका क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको पत्रकारलाई परिचय पत्र देखाउदा पनि छिर्न दिएन । विमानस्थल ब्यवस्थापनले सबेदनशिल र सुरक्षाका लागि भन्दै पत्रकारलाई र्छिन दिएनन । ‘माथिल्लो निकायको आदेश अनुसार पत्रकारलाई प्रबेशमा रोक गरेको रहेछ ,’ अनुगमनमा सहभागी एक अधिकारीले भने, ‘तपाईहरु बाहिर नै बस्नुपर्ने भयो ।’

अनुगमन टोलीले परिचय पत्र देखाएर कामको उद्देश्य बताए । तर, बिमानस्थल अधिकारीले सरकारी कर्मचारी र उपभोक्तावादीलाई मात्र प्रवेश दिए । ‘क्यामरा लैजान पनि दिईएन,’ ती अधिकारीले भने, ‘ठगी लुकाउन पत्रकारलाई रोक लगाएको होला ।’

संयुक्त बजार अनुगमन निर्देशिका अनुसार अनुगमन टोलीलाई कुनै पनि अवस्थामा रोक लगाउन वा अल्मलाउन पाईदैन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले विमानस्थलका कर्मचारीले सुचनाको हकलाई कुन्ठित गर्न नमिल्ने बताए । ‘सही सुचना पाउनु पत्रकारको अधिकार हो,’ उनले भने, ‘सुचनाको हकलाई कुन्ठित गर्न पाइदैन ।’ सुबेदीले पत्रकारलाई रोकेकामा बिमानस्थल प्रमुखसग छलफल गर्ने बताए ।

कुन सामानलाई कति मूल्य

५५ रुपैयाँ पर्ने चकलेट २ सय रुपैयाँमा बिक्री

२५ रुपैयाँ पर्ने रियल जुस ७० रुपैयाँ,

३५ रुपैयाँ पर्ने पानी १ सय रुपैयाँ,

६५ रुपैयाँ पर्ने स्प्राइट १ सय ५० रुपैयाँ

८५ रुपैयाँ पर्ने रेडबुल १ सय ५० रुपैयाँ

४० रुपैयाँ पर्ने लेज ८५ रुपैयाँ

१५ रुपैयाँ पर्ने बाइबाई चाउचाउ ३० रुपैयाँ