९ कार्तिक २०८३, सोमबार

भूकम्पपीडितलाई दुई लाख एकमुष्ट नदिएसम्म कांग्रेसले संसद् चल्न नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress-flagकाठमाडौं, १२ असार । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।

शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पीडामा रहेका भूकम्पीडितलाई थप पीडा दिन नहुने निष्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘भूकम्पपीडितले दुई वर्षायाम पीडा भोगे, उनीहरूले जाडोयाम पनि त्यत्तिकै पीडामा गुजारे,’ कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नयाँ पत्रिकासित भनिन्, ‘पीडित पीडामा भएका वेला उनीहरूलाई दुई लाख रुपैयाँ एकमुष्ट दिनुपर्छ भन्ने हाम्रो निर्णय हो । होइन भने सदन चल्न दिँदैनौँ भन्ने हाम्रो निर्णय छ ।’

बैठकले सरकारका अन्य कामको पनि आलोचना गरेको छ । ‘एमालेले पुनर्निर्माण प्राधिकरणमा राजनीतीकरण गरेको, आफ्नै दलनिकट एनजिओमार्फत काम गराएको, सरकारले फलाकेजति कहीँ पनि पुनर्निर्माण नभएकोबारे पनि समीक्षा भयो,’ केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने, ‘प्रधानमन्त्रीले सिन्धुपाल्चोकमा शिलान्यास गरेको घर नै बनेन । प्रधानमन्त्रीले नै अघि बढाएको काम नहुने, पीडितलाई दुई लाख दिने काम अघि नबढ्ने भएपछि हामी चुप लागेर बस्न सक्दैनौँ ।’

अघिल्लो सरकारको निर्णयलाई आधार बनाएर भूकम्पपीडितलाई एकमुष्ट रकम दिन सक्दैनौँ भन्ने सरकारको तर्क अर्थहीन भएको पनि नेता ढुंगानाको भनाइ छ ।

‘हिजो कांग्रेस नेतृत्वको सरकारले अवधि तोकेर दुई–तीन किस्तामा दुई लाख अनुदान दिने विषय अघि बढाए पनि १४ महिनापछि फेरि किस्ताबन्दीमा रकम दिनुपर्ने सरकारी हठ उचित छैन,’ उनले भने, ‘१४ महिना अवधिमा निर्माण सामग्रीको भाउ बढिसक्यो । अब पनि ५० हजार मात्र किस्तामा दिन खोजेर कसरी पीडितमाथि न्याय हुन्छ ?’ सरकारले पाँच हजार आठ सय ४१ लाई मात्र अनुदान रकम बाँडेर अन्यलाई अन्याय गरेको पनि ढुंगानाले बताए । लाखौँ भूकम्पपीडितले वर्षायाममा ओत नपाएकाले उनीहरूलाई तत्काल अनुदान रकम दिनुपर्ने उनको भनाइ छ ।