काठमाडौं, १२ असार । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ ।
प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै थिए । बिहीबार राति ९ बजेको दृश्य हो यो । खोरखा पत्र दैनिकले समाचार छापेको छ ।
शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरिरहेका हुन् ।
तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदासमेत फाराम बुझाउने टोकन नपाएपछि बिहीबार भने अशोकप्रसाद जैसवाल रात त्यहीँ बिताउने गरी यातायात कार्यालय पुगेका हुन् । एकैछिनमा उनीसँगै मिसिन आए, सिन्धुपाल्चोक बाह्रबिसेका प्रदीप कार्की ।
लगातार नौ दिनसम्म बिहान ४ बजे आउँदासमेत कुपन नपाएपछि उनी पनि राति नै टोकन बाँड्ने सुनेर रातभरि बस्न आएका हुन् ।
१२ दिनसम्म लगातार आउँदा समेत कुपन नपाएपछि गोपाल झाले पनि रातभरि यहीँ बस्ने बताए ।
एकैछिनमा कार्यालयमै बास बस्न आउनेको सङ्ख्या तीन दर्जन नाघिसकेको थियो ।
दिउँसो भेटिएका चितवनका सञ्जीव पौडेल मोटरसाइकल चालक अनुमतिपत्र लिनका लागि फाराम बुझाउन यातायात कार्यालय धाउन थालेको चार दिन भयो तर फाराम बुझाउनसमेत पाएका छैनन् ।
तीन चार दिन धाउँदा पनि सवारीचालक अनुमतिपत्रका लागि फारामसमेत बुझाउन नपाएका सयौं युवा दिनभरि यातायात कार्यालयमा लाइन बस्दै फर्किंदै गर्छन् ।
पौडेल लाइसेन्स निकाल्नकै लागि चितवनबाट काठमाडौं आएका हुन् । आफू चार दिनदेखि होटलमा बसिरहेको उनले बताए ।
सुर्खेतका सुशील विष्टको पनि हालत त्यही छ । नयाँ लाइसेन्स निकाल्नका लागि फाराम बोकेर यातायात व्यवस्था कार्यालय धाउन थालेको तीन दिन भयो तर पालो आउँदैन ।
टोकन वितरण गर्नेहरूले लाइनमा बसेका भन्दा पनि आफ्ना चिनजानकालाई प्राथमिकता दिएकाले लाइन बस्नेहरूले सहज रूपमा टोकन पाउन नसकेको सेवाग्र्राहीको गुनासो छ ।
त्यसमाथि लेनदेनको काम पनि हुने भएकाले लाइनमा बस्नेले प्राथमिकता नपाएको सेवाग्राही बताउँछन् । लाइनमा बसेका युवाले टोकन बिक्री भएकाले आफूहरूले पाउन नसकेको गुनासो गरे ।
सयौं युवाको भीडले यातायात कार्यालय परिसरमा दैनिक मेला लागेजस्तै देखिन्छ । १४ अञ्चलका यातायात व्यवस्था कार्यालयबाट सवारीचालक अनुमतिपत्र दिने व्यवस्था भए पनि हाल ती कार्यालयबाट काम नहुँदा एकान्तकुनाको कार्यालयमा सेवाग्राहीको सङ्ख्या चौगुना बढेको कार्यालयले जनाएको छ ।
भीड नियन्त्रण गर्न नसक्दा असार २ गते प्रहरीले लाठीचार्जसमेत गर्नु परेको थियो ।















प्रतिक्रिया