काठमाडौँ, ११ असार । बागमती नदीमा एक अपरिचित युवाको शव फेला परेको छ ।
महानगरीय प्रहरी परीसर ललितपुरका अनुसार बागमती नदी सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले नदीमा भेटिएको शव प्रहरीलाई बुझाइएको बताए ।

यता प्रहरीले वेवारिशे शव पहिचान गर्ने प्रयास गरिरहेको छ । ललितपुरका डीएसपी ईश्वर कार्कीले मृतक पुरुषको हुलिया प्रचार प्रसार गरेर पहिचान गर्ने कार्य भइरहेको जानकारी दिए ।
३० देखि ३२ वर्षका देखिने ती पुरुषको शवलाई पोष्टमार्टमको लागि फोरेन्सिक मेडिसिन विभाग महाराजगंजको शवगृहमा पठाईएको र उक्त शवको सनाखत गर्नुपर्ने भएकोले प्रहरीले सार्वजनिक गरेको हुलियासँग मिल्ने कोहि मानिस हराएको सम्बन्धमा पीडित तथा निवेदकलाई सनाखत गर्नको लागि सम्पर्क गर्न ललितपुर प्रहरीले अनुरोध समेत गरेको छ ।
यस्तो छ हुलिया:
एकिन नाम थर वतन नखुलेको उचाई करीब ५ फिट ४ ईन्च,गोलो अनुहार,थेप्चो नाक, मंगोलिएन जस्तो देखिने, कलेजी रातोमा फिक्का खुईलिएको निलो रङको चेक सर्ट र गाढा खरानी रंगको पाईन्ट लगाएको, जुंगा खैरो, बायाँ हातमा सेतो फलामको बाला लगाएको,कालो पलाष्टिकको चप्पल लगाएको अन्दाजि ३०/३२ बर्षको पुरुष ब्यक्ति ।













प्रतिक्रिया