काठमाडौं, २८ साउन । कसैका आमा छैनन, कसैका बाबु । आमा बाबु कस्ता थिए धेरैले अनुहारसम्म पनि देख्न पाएनन । कसैको बाबुआमा कालगतिले मरे, त कति राज्य र माओवादीबीचको सशस्त्र द्वन्द्वमा मारिए । आफन्त हुनेलाई त सबैले हेर्छन, तर अनाथ र टुहुराले आफ्ना पीडा कस्लाई भन्ने ? राज्य र राजनीतिक दलले समेत अनाथ र टुहुरा बालबालिकाहरुलाई चासो दिन नभ्याइरहेका बेला जापानबाट आएका एक हुल युवायुवतीले अनाथ र असहाय बालबालिकाहरुस“ग खुसीमात्रै साटेनन्, उनीहरुलाई खुसी पार्न विभिन्न खेलकुद कार्यक्रम समेत गरे ।
अनेकन बाध्यताले अनाथालयमा बस्न विवश बालबालिकाहरुका लागि बुधबार काठमाडौंको कपनमा विशेष खेलकुद कार्यक्रम गरियो । जापानबाट आएको स्वयसेवकहरुको संयोजनमा अनाथालयका बालबालिकाहरुलाई फुटबल, दौड, रिलेदेखि जापानीज सामुराई खेलसमेत खेलाइयो । कार्यक्रमस्थलमा जापानीज युवा युवतीले विभिन्न नाच समेत देखाए ।
जापानीज किशोरकिशोरीको यो अभियानलाई साथ दिन पुगेका थिए, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा । उनले बालबालिकासँग खुसीमात्रै साटेनन्, उत्कृष्ट फुटबलर बन्न शुभकामना दिँदै हौसला दिए पनि ।

राजधानीका चारवटा अनाथआश्रमका ४ टिमले सहभागिता जनाएको फुटबलमा भक्तपुरस्थित नवयुवा बालक्लव प्रथम भयो । प्रथम हुनेलाई नगद १० हजार प्रदान गरिएको थियो । विजयी टिम तथा खेलाडीहरुलाई राष्ट्रिय टोलीका क्याप्टेन थापाले पुरस्कार वितरण गरेका थिए ।
नेपालका अनाथ तथा असहाय बालबालिकाहरुको क्षेत्रमा कार्यरत स्पेक जापान नामक संस्थाले खेलकुदको आयोजना गरेको हो । जसका लागि ११ जना जापानीज युवायुवतीको टोली एक हप्ताअघि अगाडिदेखि काठमाडौं आइपुगेको थियो । उनीहरुले नै बालआश्रममै पुगेर बालबालिकाहरुलाई खेलकुदको प्रशिक्षण समेत दिएका थिए ।
कार्यक्रमका संयोजक एवं एसिया फ्रेण्डसिप नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाका अनुसार, मानवीय विपत्तिबाट अनाथ आश्रमको शरण लिन बाध्य बालबालिकाहरुलाई बर्षमा एकपटक भने पनि आश्रम बाहिर निकालेर मनोरन्जन दिलाउन यो कार्यक्रम गरिएको हो ।५ बर्षअघिदेखि सुरु गरिएको यो कार्यक्रमले बालबालिकाहरुमा सकारात्मक प्रभाव परेको लामाको भनाइ छ ।

कार्यक्रममा भाग लिन जापानीज टोलीको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेका स्पेक जापानका युसुके योसोकावाले अनाथ आश्रममा बसेका बालबालिकाहरुलाई समाजमा घुलमिल गराउन यो कार्यक्रम गरिएको जानकारी दिए । नेपाली बालबालिकाहरुसँग खुसी साट्न पाउँदा आफूहरु निकै खुसी भएको उनले बताए ।
















प्रतिक्रिया