नवलपरासी, ९ असार । तराई मधेस लोकतान्त्रिक पार्टीको चयन गर्न बाँकी रहेका पदाधिकारीका लागि सहमतिको प्रयास असफल भएपछि पदाधिकारी तथा सदस्य चयन गर्ने जिम्मा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिईएको छ ।
पार्टीको अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा हृदयश त्रिपाठी, उपाध्यक्षमा बृखेशचन्द्र लाल र आरक्षण तर्फका केन्द्रीय सदस्यहरुमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा सहमति हुन सकेको छैन ।
आज विहानै देखि सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि चयन हुन बाँकी रहेका पदाधिकारी तथा सदस्यहरुको टुंगो लगाउन अध्यक्षलाई अधिकार प्रंत्यायोजन गरिएको केन्द्रीय सदस्य पुरन चौधरीले बताउनुभयो ।
महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र खुल्ला तर्फका केन्द्रीय सदस्यहरु को टुंगो लगाउन अध्यक्ष ठाकुर सहितका नेताहरु लागिरहेको बताईएको छ । महामन्त्रीमा चन्दा चौधरीले फिर्ता लिएपछि ५ जना, सहमहामन्त्रीका लागि १४ जनाले उम्मेदवारी दर्ता कायम गरेका छन् । सिट संख्या भन्दा धेरै उम्मेदवारी परेपछि सहमती गराउन समस्या परेको हो । बाँकी रहेका पदहरुमा चयन गर्ने अधिकार अध्यक्षलाई सुम्पदै महाधिवेशन प्रतिनिधिहरु फर्किएका छन् ।
पदाधिकारीमा सहमति नजुटेपछि चुनाव गर्न माग भएपनि महाधिवेशन प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएका विद्यालयहरुमा आज देखि परिक्षा सन्चालन हुने भएकाले प्रतिनिधिहरुले सहमति नजुटेको पदलहरुमा सवैलाई मान्य हुने गरि चयन गर्न अध्यक्षलाई जिम्मेवारी दिएर घर फर्किएका हुन । अव अध्यक्षले केहि दिनभित्रै टुंगो लगाउने तमलोपाले जनाएको छ ।













प्रतिक्रिया