काठमाडौं, २८ साउन । चर्चित डन दिनेश अधिकारी ‘चरी’का परिवार उनको प्रहरीले गैर–न्यायिक’ हत्या गरेको भन्दै कानुनी सहायता माग्दै नेपाल बार एसोसिएशन पुगेका छन् ।
उनीहरुले कानुनी सहायता उपलब्ध गराउन बारमा बुधवार निवेदन दिएका हुन् । । बुधबार दिउँसो १ बजे बारमा दर्ता भएको निवेदनमा चरी हत्या सुनुयोजित भएको भन्दै न्यायका लागि आफूहरु अदालत जान लागेकोले कानुनी सहायता उपलब्ध माग गरिएको छ ।
बारका अध्यक्ष हरिकृष्ण कार्कीले कानुनी सहायता दिन नमिल्ने तर चरीका परिवारले दिएको निवेदन विषयमा छलफल गर्ने बताएका थिए । उनीहरुले बुधवार नै घटनाबारे छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोग हरिहरभवन, एडभोकेसी फोरम र इन्सेकसँग आग्रह गरेका छन् ।
चरीका दाजु धुब्र अधिकारीले घटनाबारे छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोग हरिहरभवन, एडभोकेसी फोरम र इन्सेकसँग आग्रह गरेका हुन् । चरी हत्या भएको भन्दै जाहेरी दिन हनुमानढोका गएका उनीहरुलाई मंगलबार प्रहरीले दर्ता नगरी फर्काइदिएको थियो ।
त्यसैगरी उनीहरुले सर्वोच्च अदालतमा बुधवार नै रिट हाल्ने तयारी गरेका थिए । तर, कानुनी प्रक्रिया नपुगेपछि उनीहरुको उक्त तयारी रोकिएको थियो । उनीहरुले बिहीवार सर्वोचच्चमा रिट हाल्ने तयारी गरेका छन् ।
चरीका आफन्तले गृहमन्त्री सहित ८ जना प्रहरी अधिकृतको नामै किटेर सर्वोच्चमा रिट हाल्ने तयारी गरेका हुन् ।
चरीका आफन्तहरुले सर्वोच्च अदालत जानु अघि मंगलबार दिनभर र बुधबार बिहान कानुनी प्रक्रियाबारे वकिलहरुसँग जानकारी लिएका थिए ।
उनीहरुले गृहमन्त्री वामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, महानगरीय आयुक्त कार्यालयका डिआइजी विज्ञानराज शर्मा, काठमाडौं प्रहरी प्रमुख उत्तमकुमार कार्की, अपराध अनसन्धान महाशाखाका एसएसपी पुष्कर कार्की, डिएसपी मिरा चौधरी र इन्सपेक्टर कुमुद ढुंगेलविरुद्ध अदातल जाने तयारी गरेका हुन् ।
प्रहरीले चरीलाई सुनुयोजित रुपमा इन्काउन्टर गरेको भन्दै उनीहरुले छानविनका लागि उच्चस्तरीय छानवीन समिति गठन गर्न माग गरेका छन् । चरीका परिवारले शव समेत बुझ्न नमानेपछि चरीको शव शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ ।













प्रतिक्रिया