९ कार्तिक २०८३, सोमबार

काबुल बम आक्रमणको नयाँ खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghan fire-fighters and members of security forces clean the site of a suicide attack in Kabulकाठमाडौं, ९ असार । अफगानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा घाइते भई उपचारका लागि नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीले उक्त आक्रमण आत्मघाती नभएको बताएका छन् ।

अफगान सरकारले एक आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेले घटनास्थलमा कुनै आत्मघाती हमलाकारी र उसको लास नदेखेको बताए । उनीहरूले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने बताएका छन् । उनीहरूले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धान गर्नुपर्नेसमेत बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

विस्फोट भएको बसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरुङले एपोलो अस्पतालमा कान्तिपुरसँग भने, ‘म ड्राइभर नजिकै थिएँ । किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो । गाडीमा विस्फोट भएको केही क्षणमा म बाहिर निस्कें ।’

जतिसुकै पीडा भए पनि सुपरभाइजर भएकाले प्रहरी र कम्पनीदेखि सबैतिर खबर गर्ने दायित्व आफैंमा आइपरेको उनले बताए । नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षबाहेक आफू अफगानिस्तानमै सेवारत रहेको उनले बताए ।

‘घटनामा मारिएका र घाइते भएकाहरूलाई हेरें तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्नेदेखि घाइतेलाई उपचारका लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेला नपरेको बताए । उनले आफूले सबै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडि बढाएको समेत उनको भनाइ छ ।

गोर्खा देउराली–३ का थापाले भने, ‘गाडीमा रहँदा दायाँबायाँ सबैतिर शंकास्पद वस्तु र मान्छे हेर्ने जिम्मेवारी मेरै थियो । हाम्रो गाडी विस्फोटमा पर्दा सडकमा केही महिला र बच्चाहरू मात्र अलि परै थिए ।’

विस्फोटका कारण दायाँ कानको जाली फुटेकाले राम्रोसँग सुन्न र बोल्न नसक्ने भएका उनले आत्मघाती बम विस्फोट भएको भनिए पनि गाडीको चक्का तथा माथिल्लो भागमा केही क्षति नभएको बताए ।

‘घटना शंकास्पद छ किनभने जति पनि हाम्रा साथीहरूको मृत्यु भएको छ, उनीहरू सबैको टाउको र शरीरको अन्य भाग छुट्टिने गरी आक्रमण भएको छ,’ उनले भने ।

यदि आत्मघातीले बसबाहिर विस्फोट गराएको हो भने त्यस्तो हुनु नपर्ने उनी बताउँछन् । घाइते तथा मृतकको टाउकोमा मात्र धेरै चोट लागेको देखिन्छ । अर्का घाइते सुर्खेतका अमृत रोकाय क्षत्री पनि गाडी चालकलाई समेत शंका गर्छन् । उनका अनुसार चालकलाई सामान्य चोटपटकसमेत लागेन ।

‘पछि अस्पतालमा उसको हाउभाउ हेर्दासमेत मलाई त एकदमै शंका लाग्छ किनकि मैले पनि आत्मघाती आक्रमणकारीको लास देखिनँ,’ उनले भने । उनका अनुसार आक्रमण यस्तो ठाउँमा गरिएको, जहाँ कोही पनि स्थानीय जनताहरू थिएनन् । उनी गाडी चालकको समेत मिलेमतो हुन सक्ने बताउँछन् ।

रोकाय क्षत्रीको भने अवस्था सामान्य नै रहेको छ । यद्यपि एउटा कानको जाली फुटेका कारण उनी राम्रोसँग बोल्न तथा सुन्न सक्ने अवस्थामा थिएनन् । घाइतेहरूका अनुसार आक्रमणकारीले पश्चिमा मुलुक दूतावास तथा निकायलाई सहयोग गरेको भन्दै तारो बनाउने गरेका छन् । उनीहरूले यस अगाडि आफूहरूले सुरक्षित नै महसुस गरिरहेको बताए ।

एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका विराटनगरका प्रेमबहादुर क्षत्रीको भने टाउकाको पछाडि भाग र खुट्टामा चोट लागेको छ तर पनि उनको अवस्था भने सामान्य छ । त्यसैगरी म्याग्दीका चेतप्रसाद शेरचनको अवस्था पनि सुधार भइरहेको छ र उनी विस्तारै बोल्न सक्ने अवस्थामा छन् । चितवनका कृष्णकुमार देउजाको पनि स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ र उनको पनि कानमा समस्या रहेको छ ।