पेरिस, ८ असार । विश्व विजेता जर्मनी युरोकप फुटबलमा समूह सीको विजेता बनेर दोस्रो चरण प्रवेश गरेको छ ।
अन्तिम १६ मा स्थान बनाएको जर्मनी समूहको अन्तिम खेलमा नवप्रवेशी नर्दन आयरल्याण्डमाथि १–० को कठिन जित दर्ता गरेको हो ।
पेरिसमा मंगलबार राति भएको खेलमा जर्मनीको जितमा २९ औं मिनेटमा मारिओ गोजमेले गरेको गोल नै निर्णायक बन्यो । अधिकांश समय खेल नियन्त्रणमा लिएको जर्मनीले गोल गर्ने धेरै राम्रा मौका खेर फाल्यो ।
यसअघि युक्रेनलाई २–० ले हराएको तथा पोल्याण्डसँग गोलरहित बराबरी खेलेको जर्मनीको सात अंक भएको छ ।
यसैबीच जर्मनीसँग पराजित भए पनि नर्दन आयरल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको छ । टर्कीले चेक रिपब्लिकलाई २–० ले हराएपछि नर्दन आयरल्याण्ड उत्कृष्ट तेस्रोमा पर्दै अन्तिम १६ मा पुगेको हो ।
अघिल्ला खेलमा पोल्याण्डसँग १–० ले हारेको नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको थियो। नर्दन आयरल्याण्ड ठूलो प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको यो इतिहासमै तेस्रोपटक हो ।
अब जर्मनीले अन्तिम १६ मा समूह ए वा बी वा एफ को तेस्रो स्थानमा रहनेमध्ये एक टीमसँग खेल्नेछ । – एजेन्सी















प्रतिक्रिया