काठमाडौं, २८ साउन । कुख्यात डन दिनेश अधिकारी ‘चरी’ को मृत्यु भवितव्यले भएको निष्कर्षसहित महानगरीय प्रहरी परिसर, काठमाडौंले जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ।
‘प्रहरीले पच्छ्याउँदा गोली चलाएकाले प्रतिकारमा दिनेश अधिकारी ‘चरी’ मारिएको’ भन्दै प्रतिवेदनमा घटनालाई ‘भवितव्य ज्यान’ को सूचीमा राखिएको छ।
गत बुधबार साँझ ५ बजे भीमढुंगा नर्सरीभञ्ज्याङमा प्रहरीको गोलीले चरी मारिएका थिए। चरीलाई पछ्याउने प्रहरी टोलीको प्रतिवेदनका आधारमा परिसरले प्रतिवेदन तयार पारेको हो। प्रहरीले आत्मरक्षामा गोली चलाउँदा उनी मारिएको प्रतिवेदनमा उल्लेख छ।
आपराधिक घटनाबारे प्रहरी कर्मचारीले सम्बन्धित कार्यालयमा प्रहरी प्रतिवेदन दर्ता गराउने र प्रतिवेदन दर्तापछि जिल्ला न्यायाधिवक्तालाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ।
मुलुकी ऐनमा ‘मनशाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्नेजस्तो नदेखिएको कुनै कामकुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्ने’ उल्लेख छ। सोही ऐनमा ‘कसैले हातहतियार लिई वा नलिई आफ्नो ज्यान लिनेसम्मको जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पन्जाबाट भागीउम्की आफ्नो ज्यान बचाउनसमेत फुर्सद नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भई ज्यान बचाउन उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेमा ज्यानमाराको बात नलाग्ने’ कानुनी प्रावधान छ।
‘सीतापाइलाबाट मोटरसाइकल पछ्याउँदै जाँदा भीमढुंगाको नर्सरीभञ्ज्याङमा पुगेपछि प्रहरी टोलीलाई लक्षित गरी गोली हानेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा चरी मारिएको’ प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं परिसरले विज्ञप्तिमार्फत ‘जघन्य अपराधमा संलग्न फरार अपराधीले अवैध हातहतियारसहित उपत्यकाभित्र प्रवेश गरेर व्यवसायीलाई धम्की दिई पैसा असुली गरेको सूचनाका आधारमा खोजीमा खटिएको टोलीले २१ गते बेलुका ५ बजे रातो रङको बा४९प ३११२ नं. कोे पल्सर मोटरसाइकलमा सवार अपरिचित व्यक्तिलाई शंका लागी रोक्न खोज्दा प्रहरीतर्फ लक्षित गरी गोली प्रहार गरेको उल्लेख थियो।
राधाकृष्ण भण्डारी (राधे) लाई खुकुरी हानेर हत्या प्रयास गरेको अभियोगमा ७ महिनादेखि फरार चरी मारिएपछि चरीका परिवारले योजनाबद्ध रुपमा उनी मारिएको दाबी गर्दै आएको छ। छानबिनको माग गर्दै उनको परिवारले शवसमेत बुझेका छैनन्।
प्रहरीको आत्मरक्षामा चरी मारिएको भन्दै प्रहरीले उनको मृत्युलाई भवितव्य ज्यानको सूचीमा राखेको छ। कानुनी प्रावधानअनुसार भवितव्य ज्यानको प्रक्रिया दुई वर्षसम्म जारी नै रहन्छ। यसबीचमा कुनै नयाँ तथ्य खुले प्रहरीले मुद्दा प्रक्रियाका लागि सरकारी वकिलको कार्यालयलाई पुनः जानकारी गराउन सक्ने कानुनी प्रावधान छ। प्रहरीका अनुसार चार दिनअघि चरीको परिवार सम्पर्कमा आए पनि प्रहरीले शव बुझ्न गरेको आग्रह स्वीकार गरेका थिएनन्। मंगलबार उनको परिवार चरी मारिएको दाबी गर्दै जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगे पनि प्रहरीले जाहेरी स्वीकार गरेन।
प्रहरीले उक्त घटनाबारे पहिले नै दर्ता भइसकेकाले एकै विषयमा दुईपटक दर्ता हुनसक्ने भन्दै उनको परिवारलाई फर्काएको थियो। परिसरले जाहेरी दर्ता नगरेपछि परिवार महानगरीय प्रहरी आयुक्तको कार्यालय पुगे पनि दर्ता गर्न सफल भएनन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख उत्तम कार्कीले घटनाबारे पहिले नै प्रहरी प्रतिवेदन दर्ता भइसकेको र सोही आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा प्रारम्भिक प्रतिवेदन गइसकेको जानकारी दिए। आजको नागरिक दैनिकमा खबर छ ।
















प्रतिक्रिया