काठमाडौं, २८ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शनिबार साूझसम्म तराईका अधिकांश र पहाडका केही क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने जनाएको छ। तीन दिन लगातार मुसलधारे वर्षाले बाढीपहिरोको जोखिम बढाउनसक्ने भन्दै विज्ञहरूले सचेत र सतर्क रहन सुझाएका छन्।
महाशाखाकी मौसमविद् शान्ति कँडेलले पानी पार्ने वायुमण्डलीय प्रणाली नेपालतर्फ नजिकिँदै गएकाले बुधबार रातिदेखि शनिबार साँझसम्म अत्यधिक वर्षा हुने जानकारी दिइन्। ‘भोलिदेखि पूर्वी र पश्चिमी नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ,’ उनले मंगलबार भनिन्।
महाशाखाले लगातारको भारी वर्षाले बाढीपहिरोको जोखिम बढ्ने हुँदा यसबारे सतर्क रहन गृह मन्त्रालयलाई औपचारिक जानकारी गराइसकेको समाचार आजको नागरिक दैनिकले छापेको छ।
उनका अनुसार पानी पार्ने वायुमण्डलीय प्रणाली न्यूनचापीय रेखा सामान्य स्थानभन्दा वर ९नेपालतर्फ० आएकाले वर्षाको सम्भावना बढेको हो। त्यो रेखा हाल भारतको लखनउमा रहेको र पश्चिम नेपाललाई छोएर लामो समयदेखि बसिरहेको छ। सामान्यतया यो रेखा पश्चिम बंगालदेखि दिल्लीको वरपर रहने गर्छ। त्यसले सामान्य वर्षा गराउँछ। यसपटक भने नेपालतर्फ सरिरहेको कँडेलले जानकारी दिइन्।
महाशाखाका प्रवक्ता तथा अर्का मौसमविद शिव नेपालले पनि न्यूनचापीय रेखा लखनउ वरपरको आकाशमा रहेको र यसले बंगालको खाडीबाट निस्किरहेको पानीयुक्त बाफलाई आफूतिर तानिरहेकाले अत्यधिक वर्षाको सम्भावना बढेको जानकारी दिए। ‘पानी पार्ने न्यूनचापीय रेखा सक्रिय रूपमा नेपालतर्फ आइरहेकाले वर्षाको सम्भावना बढेको हो,’ उनले भने, ‘हेरौं, कति पानी पर्छ ?’
नेपालका अनुसार यसले विशेष गरी भारतको बिहार, उत्तर प्रदेश र नेपालको तराई भू–भागमा अत्यधिक वर्षा गराउने सम्भावना छ। पहाडका पूर्वी र पश्चिमी केही भूभागमा पनि भारी वर्षा हुनसक्ने उनले जानकारी दिए। ‘पहाडमा भन्दा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ,’ उनले भने, ‘यसैको प्रभावले मंगलबार साँझदेखि नै पश्चिम नेपालमा वर्षा भइरहेको छ। यो प्रक्रिया तीन दिनसम्म चलिरहन्छ।’















प्रतिक्रिया