
काठमाडौं, २८ साउन । नेपाल प्रहरीका लागि इटालीमा खरिद गरिएका हतियार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा २० दिनदेखि अलपत्र छन्। वास्तविक मूल्यभन्दा तेब्बर बढी रकम तिरेर ठेकेदारमार्फत ल्याइएका ती हतियार आवश्यक कागजात अभावमा भन्सारमै थन्किएका हुन्।
सरकारले निर्णय गरेपछि भन्सार छुटमा हतियार ल्याउन पाइने व्यवस्था छ। तर प्रहरी र ठेकेदार कम्पनीले भन्सार छुटको कागजात पेस नगरेकाले भन्सारबाट हतियार बाहिर निकाल्न नसकिएको हो। हतियार ल्याएर भन्सार क्षेत्रमा राखिए पनि यति लामो अवधिसम्म पनि कागजात तयार गर्न नसक्नुलाई भन्सारकै कर्मचारीले पनि अनौठो मानेका छन्।
विमानस्थलस्थित प्रहरी स्रोतका अनुसार इटालीबाट सिंगापुर हुँदै जहाजबाटै ती हतियार ल्याइएका हुन्। इटालीको बेर्रेटा कम्पनीको सर्ट गनसहितका हतियार खरिद गर्ने निर्णय अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा भएको थियो।
प्रहरीका लागि हतियार आवश्यक छैन भन्दाभन्दै पनि व्यापारी र तत्कालीन सरकारको नेतृत्वको इच्छामा खरिदप्रक्रिया सुरु गरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार महँगो मूल्यमा खरिद गरिएका यी हतियारको वास्तविक मूल्य भने निकै कम छ।















प्रतिक्रिया