काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमण घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
सोमबार विहान नेपाली सवार मिनीबसमा काबुलमा तालिवानले आत्मघाती आक्रमण गर्दा १४ नेपालीको मृत्यु भएको खबरलगत्तै मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री ओलीले यो घटनाले आफूलाई स्तब्ध बनाएको बताए ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले भनेका छन्, ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
साथै प्रधानमन्त्री ओलीले काबुलको आत्मघाती आक्रमणमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ‘आततायी काबुल घटनाको नेपाल सरकार घोर निन्दा गर्दछ,’ उनले भनेका छन् ।
आज विहान काबुलमा तालिवानको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको थियो भने ५ जना नेपाली घाइते छन् ।














प्रतिक्रिया