काठमाडौं, २७ साउन । व्यवस्थापिका संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङ र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच जुहारी चलेको छ ।
सार्वजनिक महत्वको प्रस्तावक थापालाई सभामुखले १० मिनेटको समय प्रदान गर्नुभएको थियो तर थापाले १२ मिनेट बोल्नुभयो । थप समय माग्दै बोल्न लाग्दा सभामुख सुवासचन्द्र नेम्वाङले माइक काटिदिनुभयो । माइक काटिएपछि थापा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै सवाल जवाफमा उत्रिनुभयो । विवाद बढ्दै गएपछि सभामुखले सभासद् थापाले राख्नुभएको सबै अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन आदेश दिनुभयो । अभिव्यक्ति स्वन्त्रतता हनन भएको भन्दै राप्रपा नेपालका सभासद् मञ्च अगाडि आएर विरोध जनाउनुभएको थियो । सभामुख नेम्वाङ र थापाबीच करिब दश मिनेट भनाभन भयो । सभामुखले पुनः सो प्रस्तावका समर्थक दिलनाथ गिरी र सुशीलकुमार श्रेष्ठलाई बोल्न समय दिनुभयो । तर उहाँहरु बोल्न तयार हुनुभएन ।
सदनमा अप्रिय स्थिति उत्पन्न हुन लागेको भन्दै मर्यादापालक सभामुखको पोडिइम अगाडि उभिन थाले । सदन बहिस्कार गर्ने भन्दै राप्रपा नेपालका सभासद् नाराबाजीमा उत्रिनु भएपछि सभामुख नेम्वाङले आफूले राखेको प्रस्ताव पढेर सुनाउन सभासद् थापालाई समय दिनुभयो ।
सभामुखले पुनः बोल्न समय दिनुभएपछि सभासद् थापाले आफ्नो प्रस्ताव पढेर सुनाउँदै सदनमा उत्पन्न भएको असहज परिस्थितिप्रति क्षमायाचना गर्नुभयो ।
सदनमा देखिएको असहज स्थिति साम्य भएपछि सो प्रस्तावका समर्थक गिरी र श्रेष्ठले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा भ्रष्टाचार मौलाएको र जनताले सेवा नपाएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दै सदनमा उत्पन्न परिस्थितिको सन्दर्भमा माफी माग्नुभएको थियो ।
















प्रतिक्रिया