काठमाडौं, २७ साउन । व्यवस्थापिका –संसद्को मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारको आलोचना गरेका छन् ।
सिन्धुपाल्चोकको बाढी तथा पहिरो पीडितलाई सरकारले उचित राहत दिन नसकेको, महिला हिंसाको घटनामा वृद्धि भए पनि अपराधीलाई कुनै पनि कारबाही नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।
तराईका विभिन्न जिल्लामा वर्षायाम पूरा हुन लाग्दा समेत वर्षा नभएको कारण सुक्खा क्षेत्र बढेको, खेतीपाती गर्न नसकिएको तर पीडितको गुनासोप्रति हालसम्म कहीँ कतैबाट पनि सुनुवाइ नभएको तर्फपनि उनीहरुले सरकारलाई समस्या समाधानका लागि आग्रह गरे ।
यस्तै मन्त्रिपरिषदले आजसम्म २६ सभासद्को मनोनयन गर्न नसकेको, संवैधानिक निकायमा लामो समय भइसक्दा समेत नियुक्ति हुन नसकेको, अस्थायी शिक्षकको पेसागत सुरक्षा नभएको, विभिन्न जलविद्युत् आयोजनाको काम अगाडि बढ्न नसकेको विषयमा समेत उनीहरुले ध्यानाकर्षण गराएका थिए ।
मुलुकका विभिन्न स्थानमा विकास निर्माणको काम द्रुत रुपमा अगाडि बढ्न नसकेको, भ्रष्टाचार र अनियमितता मौलाएको तर त्यसलाई नियन्त्रण गर्न कुनै पहल नभएको भन्दै अनियमितता रोक्न सासदहरुले आग्रह गरे ।
शून्य समयमा आफ्नो धारणा राख्नेमा श्यामप्रसाद ढकाल, शान्ता मानवी, शान्तिदेवी चौधरी, सुशीला चौधरी, शंकर भण्डारी, सरस्वती बजिमय, सिर्जना तरामु खत्री, सिन्धु जलेसा बुढाथोकी, सीता नेपाली, सुवास ठकुरी, सुरेन्द्रराज आचार्य, सुशीलकुमार श्रेष्ठ, हरिबहादुर राजवंशीलगायत थिए ।
















प्रतिक्रिया