२९ आश्विन २०८३, बिहिबार

महोत्तरीका युवाको शव साउदी अरबमा अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudhi-arabe

गौशाला । गाविस सचिवको लापरबाहीका कारण महोत्तरी जिल्लाको सिमरदही गाविसका एक युवकको शव विदेशमा अलपत्र परेको छ ।

सिमरदही गाविसका सचिव गुलाव चौधरीले मृतक युवक सिमरदही गाविस–२ बस्ने ३१ वर्षीय महेश मण्डलको नाउँमा मृत्यु दर्ता प्रमाणपत्र नबनाइदिँदा उनको शव खाडी मुलुक साउदी अरबमा अलपत्र परेको छ ।

एक महिनापूर्वमात्रै वैदेशिक रोजगारीका लागि साउदी गएका युवक मण्डल साउन २० गते राति साथीहरूसँग सुतेकामा भोलिपल्ट मृत अवस्था फेला परेका थिए ।

युवक मण्डलको मृत्युको खबरपछि परिवारजनले मृतक युवकको शव मगाउन खोज्दा मृत्युदर्ता प्रमाणपत्र आवश्यक रहेको र गाविस सचिव चौधरीले त्यस्तो प्रमाणपत्र नबनाइदिएपछि मण्डलको शव विगत एक सातादेखि साउदीबाट आउन नसकेको कुरा उनकी पत्नी प्रमिलादेवी मण्डलले बताएकी छिन् ।

सुरुमा सचिव चौधरीले आलटाल गरेर टारे भने पाँचदिनदेखि उनी गाविसको कार्यालयमा समेत आउन छाडेका छन् । उनलाई फोन गर्दा फोन पनि उठाउन छाडेको मृतकका दाजु विकरु मण्डलले बताउनुभयो ।
सचिव चौधरीको अत्तोपत्तो नरहेको र फोनसमेत उठाउन छाडेपछि पीडित मण्डल परिवार आफ्ना समस्या लिएर आज जिल्ला सदरमुकामस्थित सचिवहरूको मुख्य कार्यालय जिल्ला विकास समितिमा आइपुगेका छन् । नीहरूले आजै स्थानीय सञ्चारकर्मीहरूमाझ आफ्ना पीडा सुनाएका छन् ।

स–साना तीन छोरी र एक छोराका पिता मण्डल एक महिना अघि रु एक लाख ५० हजार ऋण काढेर वैदेशिक रोजगारीमा गएका थिए ।