विराटनगर । वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले अब बन्ने संविधानमा वृद्धवृद्धाका लागि सम्मानपूर्ण जीवनयापनको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ ।
मन्त्री आचार्यले विराटनगर उपमहानगरपालिकाको शतवार्षिकोत्सवको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको सहयोगमा निर्माण हुन लागेको पाथिभरा ज्येष्ठ नागरिक श्रद्धाश्रमको बुधबार शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो । विराटनगर–११ को भलुवाहीस्थित डेढ बिघा जग्गामा पाँच करोड रुपैंयाको लागतमा भवन निर्माण हुन लागेको हो । एघार हजार वर्ग फिटको दुईतले उक्त भवनमा चार वटा सुविधा सम्पन्नसहित जम्मा २४ वटा कोठा हुनेछन् ।
आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुने श्रद्धाश्रममा ५० जना वृद्धवृद्धालाई बसोवासको व्यवस्था गर्न सकिने छ । भवनको वैदिक विधिद्वारा शिलान्यास गर्दै मन्त्री आचार्यले नेपाल र नेपालीको परिचय समाजमा रहेका वृद्धवृद्धाको सम्मान गर्नुबाटै हुने बताउनुभयो ।
मन्त्री आचार्यले जनताको शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा एवम् रोजगारीको हक प्रत्याभूत हुने नयाँ संविधान निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुृभयो ।
उहाँले विराटनगरवासीले शुद्ध पिउने पानी र सुव्यवस्थित स्वास्थ्योपचार प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै विराटनगर विकासका लागि गुरुयोजना ल्याउन स्थानीय निकायसँग आग्रह गर्नुभयो । ऊर्जा एवम् भौतिक पूर्वाधारको समुचित व्यवस्था गरी पलायन हुन लागेका उद्योगलाई रोक्न आफू क्रियाशील भएर लागेको जानकारी पनि उहाँले दिनुभयो ।
उहाँले लथालिङ्ग भएको पूर्वाञ्चल विश्वविद्यालयलाई सुधार गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो ।
सभासद् शिवकुमार मण्डलले हरेक सन्तानले आफ्ना अशक्त आमाबाबुलाई सम्मान गरी सभ्यताको परिचय दिनुपर्छ भन्नुभयो । गैर आवासीय नेपाल महासंघका केन्द्रीय उपाध्यक्ष टिबी कार्कीले सामाजिक क्षेत्रमा सहयोग गर्न महासंघ सदैव तयार रहेको बताउनुभयो ।
विराटनगर उपमहानगरपालिका अधिकृत प्रदीपकुमार निरौलाको सभापतित्वमा भएको शिलान्याश समारोहमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष भैरव ढकाल, मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र नेकपा (एमाले)का जिल्ला सदस्य रुपेश खतिवडाले पनि वृद्धवृद्धाको उचित बसोवासमा श्रद्धाश्रमले सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
अष्ट्रेलियाबाट एनआरएनका केन्द्रीय सदस्य रमेश पाण्डेले नेपाल सरकारको स्थानीय निकाय र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्न लागेकाले सकारात्मक, रचनात्मक र सहयोगी भूमिकाका लागि आग्रह गर्नुभयो ।














प्रतिक्रिया