काठमाडौं । चर्चित पत्रकार एवं साहित्यकार सविन प्रियासनको पछिल्लो समयमा बजारमा आएको उपन्यास पुनरागमन पठनीय सामाग्री भएको पुस्तकमा पर्दछ । कलात्मक शैलीमा रोचक तवरबाट उपन्यासको सुरु देखि अन्त्यसम्म विभिन्न विषयबस्तुहरु भेट्न सकिन्छ । कथाको मुख्य विषय बस्तु पत्रकार महिलाको कथा भएपनि उपन्यासमा आधा दर्जन बढी पात्रका फरक–फरक कथाहरु पनि उपन्यासभित्र पृथक तबरले प्रस्तुत गरिएका छन् । यहीक्रममा उपन्यासभित्र अहिलेकी चर्चित नायीका नम्रता श्रेष्ठलाई पात्र बनाएर पनि उपन्यासकारले पस्किएका छन् । जसलाई मेरो नजरबाट विश्लेषण गर्ने जमर्को गरेको छु ।
उपन्यासका मुख्य पात्र पत्रकार बसन्त नेपाली र कुमारी आमा पत्रकार अरुणा शर्माको जीवन कथामा आधारित उपन्यास पुनरागमनमा नायीका नम्रता श्रेष्ठलाई पनि देखाइएको छ । उपन्यासकारले उपन्यासमा आफ्नो भनाइँमा पुनरागम उपन्यास नायीका नम्रता श्रेष्ठको बारेमा निकाल्न लागि रहेको उपन्यास नोवल नम्रता लेख्नेक्रममा लेखेकाले उपन्यासमा अतिथि पात्रकारुपमा उनलाई देखाएको छु भनेका छन् । जेहोस्, उपन्यासलाई रोचक बनाउनका लागि नायीका नम्रता श्रेष्ठको प्रवेशले महत्वपूर्ण काम गरेको छ भन्न सकिन्छ । उपन्यासकारले नम्रतालाई जीवन र सुन्दरताको परिभाषा दिनेक्रममा उपन्यासभित्र कैद गरेका छन् । नम्रता उपन्यासका विभिन्न स्थानहरुमा देखि रहन्छिन् ।
लेखकले चाहेको खण्डमा पाठकलाई अन्याय नहुने गरेर धेरै प्रसँगहरु पुस्तकमा समावेश गर्न सकिन्छ भन्ने उदाहरण पनि पुनरागमन उपन्यासले दिएको छ । उपन्यास अध्ययन गर्नेक्रममा सुरु देखि अन्त्यसम्म पट्यार मानेर थन्काउँछु जस्तो लाग्दैन । उपन्यासमा नायीका नम्रता श्रेष्ठको जन्मदिनको चर्चापनि गरिएको छ ।
उपन्यासकार प्रियासनले उपन्यासका मुख्यपात्र वसन्त र नायीका नम्रताबीचको सम्वादले रोचक तरिकाले प्रस्तुत गरेका छन् । पृष्ठ १७४ देखि १७८ सम्म नायीका नम्रता श्रेष्ठसँगको सम्बाद उल्लेख गरिएको छ । जसमा यसरी उपन्यासकारका कलमहरु अगाडि बढेका छन् ।
नम्रताको कुरा सुनेर वसन्त खित्का छाडेर हाँस्न थाल्छ । नम्रता पनि हाँसोमा मिसिन्छिन् । वसन्तले पुनः प्रश्न गर्दछ, ‘हजुर आफूलाई कुन फूलसंँग दाँज्नुहुन्छ र किन ?’
‘फोनबाटै सबै कुरा सोधेर नयाँ उपन्यास बनाउने बिचार आयो कि क्या हो । तर, पनि सोधी हाल्नु भयो । म आफूलाई कमलको फूलसँंग तुलना गर्न रुचाउँछु । कारण कमलको फुल सबैले हेला गरेको, उपेक्षा गरेको अनि तिरस्कार गरेको हिलोमा फुल्दछ । ऊ फुलिसक्यो भने समाजलाई आफूतिर यसरी आकर्षित गर्दछ कि सिङ्गो समाजले उसको प्रशंसामा अनेकौं गीत, कथा अनि उपन्यास सिर्जना गर्दछ । उपेक्षामा परेको हिलोलाई समेत अंगालो मार्दै, त्यसमा लडिबुडी खेल्दै मानिसहरु कमलको फूललाई आफ्नो बनाउन अग्रसर बन्दछन् । म पनि समाजका विभिन्न कथित मान्यताहरुका कारण उपेक्षामा परेको नारी समुदायभित्रको एउटा पात्र हुँ । समाजका धेरै कुदृष्टि, कुसंस्कार अनि गलत मान्यतालाई चिरेर यही समाजमा फुलिरहेको छु । संघर्ष अनि चुनौतीबिचबाट म पनि मेरो पौरख, क्षमता र गुणका आधारमा समाजलाई आफूतिर आकर्षित गर्न उद्दत छु । मलाई विश्वास छ, अनवरत संघर्षपछि मैले प्राप्त गर्ने सफलतासँंगै समाज मप्रति नतमष्तक हुनेछ, सकारात्मक बन्नेछ । म सबैको आँखा, मन अनि ओंठमा कमलको फूल जस्तै गरेर सम्मानित नारी बनेर देखा परिरहनेछु ।’
मान्छेजस्तै मिठा कुरा गर्न सिक्नुभएछ । खुसी लाग्यो ।’ ‘साहित्यकार, पत्रकार अनि लेखकको संगत भएपछि यति पनि बोल्न नजाने त बर्बाद भैहाल्यो नि ! अनि अरु केही सोध्नु छ कि ?’
नायिका नम्रता श्रेष्ठ अहिलेको चल्तिकी नायिका हुन । उनको उपस्थितिले उपन्यासलाई थप गौरबमय बनाएको उपन्यासकार प्रियासनले पुस्तकमा आफ्नो भनाईराख्नेक्रममा भनेका छन् । जेहोस्, सन्देश प्रवाह गर्ने उद्देश्यले नायीका नम्रता श्रेष्ठलाई देखाइएको छ । उपन्यासकारको व्यक्तिगत लेखाइएको स्वतन्त्रता भएकाले पनि यसमा मन अमिलो बनाएर आलोचना गर्नु मैले ठिक मानेन । तसर्थ हरेक कुरालाई सकारात्मकरुपमा लिनुपर्छ भन्ने मान्यता मेरो छ । पुनरागमनमा नम्रतालाई देखाएर उपन्यासकारले गम्भीर गल्ती गरे भन्ने पक्षमा म छैन । उपन्यासकारले आगामि प्रस्तुतीकारुपमा नायीका नम्रता श्रेष्ठको जीवनमा आधारित उपन्यास नोवल नम्रता बजारमा ल्याउने तयारी गरेको प्रसंगहरु पनि उपन्यासमार्फत जानकारी गराएका छन् । उपन्यासकारको आगामि उपन्यास अझ राम्रो बन्न सकोस् ।
३०४ पृष्ठको पुनरागमनको मूल्य ५ सय राखिएको छ । पुस्तक पठनीय भएकाले पुस्तक खरिद गर्नेले आफूले तिरेको रकम असुल गरेको महसुस अवश्य पनि गर्नेछ । साथै पुस्तकको बिक्रीबाट असहाय बालबालिकाको शैक्षिक सहयोगमा खर्च गर्ने योजना उपन्यासकारले बनाएकाले पनि पुस्तक खरिद गर्नेहरुको मनमा कुनै पनि नमिठोपन रहने छैन भन्ने विश्वास मैले लिएको छु । यस बाहके पुस्तकमा पाठकले थाहा नपाउने गरी केही त्रुटीहरु छन् । उपन्यासकारले भविष्यमा यस्ता गल्तीहरु नदोहोराउँदा राम्रो होला ।
















प्रतिक्रिया