२९ आश्विन २०८३, बिहिबार

महाधिवेशनमा बराबरी मत ल्याउनेको ‘बिचल्ली’, केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml

काठमाडौँ, २७ साउन । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठक प्रारम्भ हुने दिनसम्म पनि नवौँ महाधिवेशनमा बराबरी मत ल्याएका चार उम्मेदवारको परिणाम घोषणा हुन सकेको छैन ।

बराबर मत ल्याउने ती उम्मेदवारलाई गोलाप्रथामा सहभागी गराउने केन्द्रीय निर्वाचन आयोगको पटकपटकको प्रयास बिफल भएपछि निकासका लागि केन्द्रीय कमिटीले नै राजनीतिक निर्णय गर्ने देखिएको छ ।

बराबरी मत ल्याएका चारै जना एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाएका छैनन् । यसअघिको बैठकमा समेत हलबाहिरै रहेका उनीहरु मंगलबारबाट सुरु भएको बैठकमा समेत सहभागी हुन नपाउँदा बिचल्ली भएको महसुस गर्न थालेका छन् । ‘चुनावमा बराबर मत ल्याउँदा त बिचल्ली पो हुँदो रहेछ, न सहमति जुट्छ, न पार्टी बैठकमा सहभागी हुन पाइन्छ ।’ बराबरी मत पाएका एक नेताले भने ।

महाधिवेशनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा खिमलाल भट्टराई र नागेन्द्र चौधरीले ९८६ र मुस्लिमतर्फको सदस्यमा मोहम्मद महफुज अन्सारी र सिराज अहमद फारुकीले ९६४ मत ल्याउनुभएको थियो । निर्वाचन प्रक्रियाअनुसार सम्बन्धित उम्मेदवारलाई उपस्थित गराएर गोलाप्रथा गर्नुपर्ने हुन्छ ।

मंगलबारको बैठक अगाडि गोलाप्रथाबाट निर्णय गर्ने प्रयासमा आयोगको बैठक बसे पनि अब केन्द्रीय कमिटीमा छलफल भएपछि मात्र टुङ्गोमा पुग्न सहज हुने निष्कर्ष निकालेको आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिनुभयो ।

गोलाप्रथाबाट पराजित हुनेलाई केन्द्रीय कमिटीमा मनोनित गरिने निश्चित भएपछि मात्रै त्यस प्रक्रियामा भाग लिन चाहने ती उम्मेदवारको चाहना देखिएकाले निर्णयमा पुग्न कठिन भएको हो ।

एमाले केन्द्रीय कमिटीको बैठक अहिले ११ बजेबाट प्रारम्भ भएको छ ।