२८ आश्विन २०८३, बुधबार

सन्दर्भको चरीको, प्रश्न मल्टीह्याटको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattarai

चरी प्रकरणमा एमालेका केही नेताले सडकदेखि सदनसम्म जुन गियरमा जे जस्ता गतिविधि प्रदर्शन गरे, त्यसले पार्टीको प्रतिष्ठामा गम्भीर आँच पुगेको छ । डनको ह्याटमा मारिएको चरीलाई एमाले नेताको ह्याटमा प्रस्तुत गरेर रडाको मचाउँदा एमाले जनताको बहुदलीय जनवादका लागि हो वा डनहरुको संरक्षणवादका लागि ?, गम्भीर प्रश्न उठ्ने मौका मिलेको छ । यस्ता हर्कतहरुबाट जोगिदा नै एमालेको हित हुन्छ ।


पश्चिमा गोलाद्र्धमा एउटा बहुप्रचलित शव्दावली छ, मल्टी ह्याट । उतातिर, बहुआयामिक व्यक्तित्व भएका मानिसका लागि यो शव्दावली प्रयोग हुन्छ ।

सामान्यीकरणभन्दा माथि उठेर विशिष्टीकरणको युगमा गुज्रिरहेको त्यो गोलाद्र्धमा त्यस्ता प्रतिभाहरु पाउनु दूर्लभ हुन्छ । उनीहरुको भिजिटिंग कार्डमा एउटै मात्र परिचय हुन्छ । उनीहरुको गोलाद्र्धमा सिंगल ह्याट हुनु भनेकै यही हो । सामान्यतः त्यो गोलाद्र्धमा मल्टी ह्याट हुनु ट्यालेन्ट मात्र भएर पुग्दैन, जिनियस नै हुनुपर्छ । त्यसैले उता मल्टीह्याट एउटा अनौठो संजोगका रुपमा समाचारको विषयवस्तु बन्ने गर्छ ।

सन् २००७ को अगष्टमा एउटा छोटो भ्रमणमा नर्वे पुगेको थिएँ । निक्कै सक्रिय कालखण्ड थियो त्यो मेरा लागि । नौं संस्थाका विभिन्न भूमिकामा संलग्न थिएँ म त्यतिबेला । लाग्यो, ती सबै भूमिकाहरु उल्लेख गरेर भिजिटिंग कार्ड बनाऔं । कार्डको पछिल्तिर संलग्न संस्था र पद उल्लेख गर्दा कार्डको पातो नै भरिएको थियो । ओस्लो विमानस्थलमा ओस्लो युनिभर्सिटी कलेजका एक प्राध्यापक रिसिभ गर्न आएका थिए । बुके हातमा राखिदिदै स्वागत गरे । मैले धन्यवाद भन्दै उनको हातमा त्यही मेरो भिजिटिंग कार्ड थम्याइदिए । उनले त्यो पढिसकेर मेरो अनुहारमा हेरे । मानौ उनी त्यहाँ लेखिएको मानिस र ममा ट्याली गरिरहेका थिए । अनुहारमा प्रष्टसँग एउटा अविश्वसनीय आश्चर्य झल्काउँदै उनले भने, यू आर रियल्ली मल्टी ह्याट । माइ प्लिजर टु वेलकम यु । फेरि उनले एकपटक हात मिलाउँदै भने, वेलकम मल्टी ह्याट वन्स एगेन ।

सुरुमा त मलाई लाग्यो, यो स्वभाविक थियो । तर, उनले नर्वे बसाइको क्रममा त्यो शव्दावली बाराम्बार दोहोर्याइरहे । अरुसँग परिचय गराउँदा मात्र हैन, सार्वजनिक कार्यक्रममा पनि मेरो परिचय दिँदा मल्टिह्याट छुटाएनन् । यस क्रममा मैले के बुझे भने, उनलाई अनौठो लागिरहेको थियो । अझ यसो भनौं, त्यसमा उनलाई खासै चित्त बुझिरहेको जस्तो थिएन । फर्कने बेलामा मैले उनलाई भने, महोदय, यहाँलाई मेरो भिजिटिंग कार्ड करिकुलम भिटे जस्तो लाग्यो होला । मलाई माफ गर्नुहोला, त्यो मेरो रहर थिएन । म जे थिएँ, त्यो राखेको थिएँ । तयो मेरो गोलाद्र्धको धरातलीय यथार्थ हो । तर, मलाई लाग्यो, यहाँ यो अनौठो रहेछ । मेरो लागि त यो एक किसिमको हाइपोथेसिस टेस्ट नै भयो भने पनि हुन्छ । मैले चित्त दुखाएँ कि भन्ने लागेछ क्यारे, उनले भने त्यस्तो हैन । तर, पनि हाम्रोमा यति धेरै भूमिकामा प्रस्तुत हुन सम्भव छैन, त्यो चाँहि सत्य हो । मैले उनलाई विनम्रतापूर्वक सम्झाउने कोसिस गरें, तिमीहरुलाई सिंगल ह्याट भएर पनि पुग्छ तर हाम्रो जीवन एउटा ह्याटले चल्दैन । कहाँ कुन ह्याट फेर्नुपर्ने हुन्छ, थाहा नै हुँदैन । त्यसैले बैकल्पिक ह्याट हाम्रो वाध्यता हो । एक किसिमले भन्ने हो भने यो हाम्रो जीवन पद्धति पनि हो । तिम्रो सिंगल ह्याट व्यक्तित्वलाई मेरो अभिवादन छ, सक्छौ भने मेरो मल्टीह्याट जीवनलाई घृणा नगरी देऊ । उनी मेरो चित्त दुखाउन चाहदैनथे शायद । त्यसरी नलिइदिन धेरै पटक अनुरोध गरे । मैले पनि हुन्छ भनें तर मनमा एक किसिमको हुटहुटी चलिरह्यो । जे होस्, हामी यही विदाइ नोटका साथ छुट्टियौं ।

म नेपाल फर्किए । के गर्ने चाहेर पनि सिंगल ह्याटले काम चल्दैन थियो । धेरै ह्याट लगाएरै म आफ्नो दैनन्दिनीमा फर्कें । विहान कलेमा प्राध्यापन, दिउँसो मिडियामा काम । साँझ परामर्शदाताको भूमिका । विदामा सामाजिक संस्थाहरुको काम । तर, पनि मलाई लाग्यो, भरिशक्य एउटै ह्याटले जीवन चलाउनुपर्ने रहेछ । एक जुनीको सार्थक बचाइका लागि धेरै ह्याट माथि न्याय गर्न सकिदैन । पछिल्लो समय, मैले धेरै ह्याट फुकालिसके । यतिसम्म कि, कहिलेकाँही त एउटै ह्याट पनि बाँकी हुँदैन, मागेर लगाउनुपर्ने हुन्छ । काठमाडौं विश्वविद्यालयको भिजिटिंग फ्याकल्टी, इन्टरनेसनल अमेरिकन युनिभर्सिटीको एड्जंक्ट फ्याकल्टी, यस्तै अबर पर्दाका ह्याट भएका छन् मेरा लागि ।

सिंगल ह्याट, डबल ह्याटको यो नर्वे प्रसंग अरु बेला त म खासै सोच्दिन । तर, जब कोही मान्छेको असहज मृत्यु हुन्छ र त्यसले समाचार बनाउँछ भने म फेरि एकपटक त्यही ओस्लो नोस्टल्जियामा हराउन पुग्छु । अझ खासगरी सञ्चार क्षेत्रमा त्यसो हुँदा त म असमञ्जसमै पर्छु । भनिन्छ, यो मुलुकमा धेरै सञ्चारउद्यमी अनि सञ्चारकर्मी मारिए । जमिम शाहदेखि अरुण सिंहानियासम्म, यादव पौडेलदेखि उमा सिंहसम्म । तर म निश्चिन्त छु, उनीहरु सञ्चारउद्यमी या सञ्चारकर्मीको ह्याटमा मारिएकै हैनन् । मल्टी ह्याट प्रयोग गर्ने यी नामहरुसँग एउटा ह्याट सञ्चारसँग पनि जोडिएको थियो । सहधर्मिताका नाममा सही, सञ्चारकर्ममा उनीहरुको त्यही ह्याट समाचार बन्यो । अनि भनियो, सञ्चारकर्मी फलाना या तिलानाको हत्या । वास्तवमा उनीहरु कोही पनि रिपोर्टिंगको क्रममा या सम्पादनको क्रममा अझ भनौं सञ्चारकर्मीको भूमिकामा मारिएकै हैनन् । यसोभन्दा कतिपयलाई मन नपर्न सक्छ तर जति ह्याट लगाए पनि मान्छे एउटै हुनाले मारिदा ती सबै ह्याटको समष्टि मारिन्छ । यस अर्थमा सञ्चारकर्मीको ह्याट पनि मारिने हो, यो बेग्लै कुरा भयो ।

सन्दर्भ दिनेश अधिकारी उर्फ चरीको हो । चरीसँग मूलतः दुईवटा ह्याट थिए, एमाले नेता र डन । सम्वन्धका कारणले कसैको प्रेमी हुनुलाई ह्याट मान्दा अहिले सतहमा उनको तेस्रो ह्याट पनि देखिएको छ, खुश्वु ओलीको मगेत्तर । ऊसँग जे जति ह्याट भए पनि ऊ डनको ह्याटमा मारिएको हो । विष रोपेको थियो उसले, त्यसबाट अमृत फल्ने कुरै थिएन । त्यो विषबाट फाइदा लुट्ने विषकन्याहरु अहिले उसलाई रबिन्हुड बनाउँदैछन् । त्यो उनीहरुको कुरा भयो । तर, कानुनको आँखामा ऊ एक भगौडा अभियुक्त थियो ।

अपराधी थियो कि थिएन त्यो त जाँचपड्तालको क्रममा थियो । आफैं भागेर उसले त्यो जाँच्ने मौकै दिएन । तर, दुर्भाग्य एमालेका धादिंगे नेताहरुले यस्तो हर्कत गरे कि उसले मारिने बेलामा लगाएको डनको ह्याट फुकालेर एमाले नेताको ह्याट लगाइ दिए । ह्याट लगाउनसम्म पनि ल कार्यकर्ता हो ठीकै छ भन्नु । यस्तो हर्कत देखाए कि मानौ मनमोहन अधिकारी या मदन भण्डारीले चरीका अवतारमा दोस्रो जुनी पाएर आएका थिए, प्रहरी मुठभेडमा मारिए जसको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने, संसद अवरुद्ध गरिनुपर्नेे, शहीद घोषणा गर्नुपर्ने, प्रहरी अधिकृत निलम्वन गरिनुपर्ने, धादिंग बन्द हुनुपर्नेजस्ता महान आन्दोलन नै गर्नुपर्ने भयो । यो कुनै आन्दोलनको विषयको त कुरै छोडौ, सामान्य मानिसले गर्ने क्रियाकलाप पनि हैन । यसले एमालेको छविमा ठूलो प्रश्नचिन्ह खडा गर्यो । यसै पनि एमाले डनको शिविर भयो भनेर आरोप लगाउनेहरुको कमी छैन । त्यसमा पनि चारचार जना सांसद अझ राजेन्द्र पाण्डे त पार्टीको उपाध्यक्षका उम्मेद्वारसमेत रहेका नेता । संसदमा उनले जे जस्ता गतिविधि देखाए त्यो एकजना सामान्य मानिसले गर्ने खालको क्रियाकलाप नै थिएन, सांसदले गर्ने कुरा त धेरै टाढाको कुरा भयो । चरी प्रकरण राजेन्द्र पाण्डेहरुका लागि त के हो थाहा छैन, तर एमालेका लागि भने शिर निहुराउने एउटा कालो घटना भयो । यसले एमाले जनताको बहुदलीय जनवादका लागि हो कि डनहरुको संरक्षणवादका लागि हो, गम्भीर प्रश्न उठ्ने मौकासमेत प्रदान दियो ।

हो, अरु न्यायिक ह्याटमा चरीमात्र हैन, कोही पनि मारिनु हुन्न तर डनको ह्याटमा यदि ऊ राज्यलाई चुनौति दिदै भाग्छ र अरुलाई लुटिरहन्छ भने मृत्युदण्डको कानून छैन भनेर राज्य रमिता हेरेर बस्न पनि हुँदैन । सके, बचाएर सुध्रिने मौका दिने हो, सकिदैन भने त्यस्तालाई सिद्ध्याएरै समाज सफा गर्ने हो । आखिर अपवाद जहाँ र जहिले पनि हुन सक्छ । अंग्रेजीमा एउटा शव्दावली छ, ह्वाइट लाइ । यदि बहुहिताय हुन्छ भने त्यस्तो कामको लागि ढाट्न पनि मिल्छ । भन्नुको आशय नियत सफा छ र धेरै निर्दोषलाई बचाउने क्रममा एउटा खरावलाई किनारा लगाउन ढाट्दा पनि फरक पर्दैन ।

हुन त हाम्रो समाज नै डबल स्टान्टर्ड छ । एमालेको मात्र के कुरा गर्नु ? आफ्नो लागि नेता, अर्काका लागि गुण्डा । यो त हाम्रो राजनीतिको साध्य नै भैसक्यो । एमालेका लागि गुण्डा अर्का पार्टीका लागि नेता छन् भने अरु पार्टीका लागि गुण्डा एमालेका लागि नेता हुन अस्वभाविक हैन । तर, यसो हो भन्दैमा विवेकमाथि विर्को लगाउनैपर्छ भन्ने चाँहि हुदैन । जसरी होस्, विवेक बोल्नुपर्छ र नीतिहरुको राजा राजनीति जतिसक्दो अपराधिकरणबाट जोगिनुपर्छ । तर, दुर्भाग्य, यहाँ अझै पनि राम्रा हैन, हाम्राका लागि कुतर्कको खेती गर्नेहरुको कमी रहेनछ । रामकुमारी झाँक्रीलगायतका केही अपवाद बाहेक मुलुकभित्र रहेका हुन् या डायस्पोरामामा रहेका, अधिकांश एमाले समर्थक शुभचिन्तकहरु विवेकलाई वन्धकी राखेर चरीलाई शहीद बनाउन चोचोमा मोचो मिलाउनतिर लागेका छन्, यो भन्दा विचित्रको जन्ती अक्षर के हुन सक्छ ? तर्कका लागि तर्क त जति गरे पनि हुन्छ । तर, हजार तर्कले पनि एउटा तथ्यलाई जित्न सक्दैन । मारिएका चरी डन नै हुन् र प्रहरीले मारेको पनि डन चरीलाई नै हो । तर, उनीसँग एमाले नेता दिनेश अधिकारीको ह्याट पनि थियो । चरी मारिदा उनको टाउकोमा रहेको त्यो ह्याट पनि उड्यो, यो चाँहि उनको र एमालेको दुर्भाग्य हो । आगे उनीहरु नै जानुन् ।

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई मंगलबारबाट दृष्टि साप्ताहिकको सल्लाहकार सम्पादकमा नियुक्त हुनुभएको छ । दृष्टि साप्ताहिकमा विलोम स्तम्भमार्फत् चोटिलो प्रहार गर्नुहुने डा. भट्टराईको मूल विषय चलचित्र भए पनि उहाँ हरेक विषयमा त्यतिकै सशक्त कलम चलाउन सक्नुहुन्छ । पछिल्लो समय उहाँ काठमाडौं विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गरिरहनु भएको थियो ।)