काठमाडौं, ३१ जेठ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल कुराँस संघ नेपालका नयाँ खेल संघ दर्ता भएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले उक्त संघलाई आईतबार दर्ताको प्रमाणपत्र प्रदान गरे । नेपाल कुराँस संघको अध्यक्षमा रामेछापका दान बहादुर घिसिङ रहेका छन् ।
संघको बरिष्ठ उपाध्यक्षमा लमजुङका राजेन्द्र लौडारी, उपाध्यक्षद्वयमा तनहँुका प्रकाशचन्द्र भट्टराई र काठमाडौंकी प्रतिक्षा खरेल, महासचिवमा काठमाडौंका ध्रुवराज न्यौपाने, सचिवद्वयमा काठमाडौंका निरज श्रेष्ठ र अछामका सुरतबहादुर खत्री रहेका छन् । त्यस्तै कोषाध्यक्षमा तनहुँका दुर्गानीधि कौडाल रहेका छन् ।
संघका सदस्यहरुमा लमजुङका राजेश्वर कमली, तनहुँकी सुष्मा सिग्देल, काठमाडौंका देवराज लामा, संखुवासभाका जिवन राई र २ सदस्य राष्ट्रिय खेलकुँद परिषदले सिफारिस गर्ने भएको छ । राखेपले खेलकुँद विकास नियम २०४९ को परिच्छेद ३ अनुसार कुराँस संघलाई खेल संघको मन्यता दिएको हो ।
कुराँस संघले खेलकुँद गतिविधि अन्तर्गत यही असार ४ गते काठमाडौंमा राष्ट्रिय स्तरको जुनियर कुराँस च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।
सो प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तान स्थित अन्तराष्ट्रिय कुराँस एसोसियसनबाट बरिष्ठ उपाध्यक्षको नेतृत्वमा ४ जना र भारतबाट भारतीय कुराँस संघका उपाध्यक्ष एवं भारतीय लोकसभाका सदस्य नेपाल आउने संघका अध्यक्ष घिसिङले जानकारी दिए ।
कुराँस संघले खेलाडी उत्पादन गर्नको लागि त्रिभुवन आर्मी अफिर्सस क्लव र नेपाल पुलिस क्लवमा नियमित प्रशिक्षण दिँदै आएको छ । कुराँसको तर्फबाट चाँडै नै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने तयारी भईरहेको बरिष्ठ उपाध्यक्ष लौडारीले बताए ।















प्रतिक्रिया