काठमाडौं, २८ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन सकिएको तीन महिना नाघिसक्दा पनि खास कार्यकक्ष प्रवेश गरेका छैनन् ।पार्टी कार्यालयमा अब लगभग ‘वास्तुदोष’ हटाइसकियो । देउवा चाँडै ‘शुभ साइत’ मा सभापति कक्ष प्रवेश गर्ने तयारीमा छन् ।
सभापतिका लागि तत्कालीन महामन्त्री प्रकाशमान सिंह, मुख्यसचिव र कोषाध्यक्षको कार्यकक्ष फोडेर सुविधासम्पन्न, व्यवस्थित र भव्य कार्यकक्ष तयार गरिएको छ । तीनवटा कोठाका बरन्डासमेत गोप्य बैठक गर्न सक्ने गरी व्यवस्थित बनाइएको छ ।
केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले सभापति देउवा उत्तर–दक्षिण फर्केर बस्ने गरी कार्यकक्ष र बैठक हल सजावट गरिएको जानकारी दिए । ‘वास्तुशास्त्रअनुसार कार्यकक्ष र बैठक कोठाको आसन मिलाइएको छ,’ उनले नागरिकसँग भने, ‘अब सबै टाकटुक मिलिसकेको छ ।’
वास्तुविद् माधवमंगल जोशीको सल्लाहअनुसार कार्यालयको रुपरंग फेरिएको हो । सभापतिको नयाँ कार्यकक्ष केन्द्रीय कार्यालयको पश्चिम–दक्षिणतर्फको कोठालाई बनाइएको छ । कोठाको पश्चिमतर्फ छेउमा कुर्सी राखेर सभापति पूर्व फर्कने गरी सजावट गरिएको छ । यसअघिका दुई सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइराला भने पूर्वतर्फको कोठामा थिए। दुवै जना पश्चिमतर्फ छेउमा कुर्सी राखेर पूर्वतर्फ फर्कन्थे ।
केन्द्रीय समितिको बैठक कक्षमा पहिले कोठाको लम्बाइअनुसार केन्द्रीय सदस्य पूर्व–पश्चिम लहर लागेर बस्ने व्यवस्था थियो । अब उनीहरू दक्षिणतर्फ फर्केर बस्नेछन् । सभापतिसहित पदाधिकारीको आसन दक्षिणमा कुर्सी राखेर उत्तरतर्फ फर्कने गरी मिलाइएको छ । यो सजावट उति आकर्षक भने देखिँदैन ।
बालकृष्ण खाँड, मदन अमात्य, उमेश श्रेष्ठलगायत नेताको आग्रहमा आफूले पार्टी कार्यालयको वास्तु हेरेपछि सुधार्नुपर्ने पक्ष लिखित रूपमै दिएको वास्तुविद् जोशी बताउँछन् ।
नयाँ कार्यकक्ष तयार भएको खबरपछि देउवा बिहीबारै निरीक्षण गर्ने तयारीमा थिए । तर, नेत्रविक्रम चन्द नेतृत्व माओवादीको बन्द आह्वानका कारण जान सकेनन् । चैत ५ गते पार्टी केन्द्रीय समिति बैठकपछि देउवा जेठ २० गते भूतपूर्व सैनिक संघ महाधिवेशन उद्घाटन गर्न मात्र कार्यालय पुगेका छन् ।
कार्यालय सचिव केसीले सभापति देउवा अब आइतबार कार्यालय आउने सम्भावना रहेको बताए । ‘केही काम बाँकी रहेछ, बन्द पनि भएकाले बिहीबार आउनुभएन,’ उनले भने, ‘सम्भवतः आइतबार आउनुहुन्छ होला ।’ मुख्यसचिव कृष्ण पौडेलले सभापतिको नयाँ कार्यकक्ष करिब–करिब तयार भएको जानकारी दिँदै भने, ‘सभापति कहिले आउनुहुन्छ, खबर गर्छु ।’
वास्तुसँगै केन्द्रीय कार्यालयका कर्मचारीका लागि पनि नयाँ नियम लागू गरिएको छ । कार्यालय पुगेर एकपटक मात्र हाजिर गरे हुने कर्मचारीलाई बिहान १० बजे पुग्नैपर्ने र साँझ ५ बजेसम्म कार्यालय बसेर पुनः हाजिर गर्नुपर्ने नियम तोकिएको छ ।
‘नयाँ मुख्यसचिव आएपछि नयाँ नियम लागू भएको छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘कार्यालय सफा भएन, कर्मचारीले काम गरेनन् भनेर दुईपटक हाजिर गर्ने परम्परा सुरु भएको छ । काम होइन, हाजिर हेर्न थालिएको छ।’ केन्द्रीय कार्यालयमा हाल एक सवारी चालकसहित २५ कर्मचारी कार्यरत छन् ।















प्रतिक्रिया