
काठमाडौं, २६ साउन । अघिल्लो दिन फोहोर र झारले भरिएको सडक किनारामा भोलिपल्ट रूखका बिरुवा रोपिएको देखेपछि तीनकुनेका बासिन्दा र पैदलयात्री अचम्ममा परेका थिए। ती बिरुवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि रोपिएका थिए।
सरकारले झारा टार्ने र एक दुईदिन देखाउने मनसायले रातारात रोपेका ती बिरुवा आवश्यक संरक्षण अभावमा मर्न थालेका हुन्।
मोदीको स्वागत तथा तयारीका लागि गत शनिबार ९यही साउन १७ गते० प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सकिएलगत्तै मुख्य सचिव लीलामणि पौड्यालले काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त डा.भाइकाजी तिवारीलाई रातारात भए पनि तीनकुनेमा बिरुवा रोप्न निर्देशन दिएका थिए। मोदी साउन १८ मा काठमाडौं आई १९ गते फर्केका थिए।
पौड्यालको निर्देशनलगत्तै तिवारीले कीर्तिपुरस्थित बुढाथोकी नर्सरीबाट बिरुवा मगाएर रोप्न लगाएका थिए। फोहोर र अव्यवस्थित सडकलाई हरियाली देखाउन सरकारले रूख रोपे पनि रेखदेख अभावमा ती बिरुवा मर्न थालेका छन्।
पूर्वयोजनाबिना मोदीलाई देखाउन रोपिएका बिरुवा मर्न थालेपछि प्राधिकरण नयाँ रोप्ने योजनामा रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । आवश्यक पूर्वाधारसहित व्यवस्थित आइल्यान्ड नभएको स्थानमा बाटोमै खनेर रूख रोपिएका कारण मर्न थालेको प्राधिकरणका अधिकारी स्वीकार्छन्।
बुढाथोकी नर्सरीबाट मगाइएका एक सय २५ वटा अति महँगो मानिने पयाँलो, माइकेनिया चम्पा, ल्याइबेर सोनिया, चाइनिज कल्की, श्यामखोडा, जापानिज धुपीलगायत जातका बिरुवा रोपिएका थिए। ती बिरुवाको न्यूनतम मूल्य एक हजारदेखि एक हजार चार सय रुपैयाँसम्म पर्छ।















प्रतिक्रिया