म्याग्दी, २३ जेठ । नेपाल तरुण दल म्याग्दीको अध्यक्षमा पुनः मुकुन छन्त्याल निर्वाचित हुनुभएको छ ।
बेनीमा शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका छन्त्याल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनले तरुण दलको उपाध्यक्षमा श्रीप्रसाद रोका, सचिवमा गोविन्द बानियाँ र सुमन बानियाँ, कोषाध्यक्षमा हीरा पुन, कमल किसान र सहसचिवमा युक्तबहादुर पुनलाई चयन गरेको छ ।
कार्यसमितिमा निर्वाचित र मनोनीत गरी ५५ सदस्य रहेको सचिव गोविन्द बानियाँले जानकारी दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले शुक्रबार उद्घाटन गर्नुभएको अधिवेशनमा बेनी नगरपालिका र ३५ गाविसका १५० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
रेडक्रसको नयाँ कार्यसमिति चयन
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको सभापतिमा लेखबहादुर हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको अन्य १२ सदस्यका लागि भने मतदान भएको थियो । हमाल आगामी चार वर्षे कार्यकालका लागि दोस्रो पटक रेडक्रसको शाखा सभापतिमा निर्वाचित हुनुभएको हो ।
शनिबार भएको निर्वाचनमा सदस्य पदमा शिव बानियाँ, धु्रवलाल शर्मा, काशीराम रेग्मी, यामबहादुर बानियाँ, दशरथकुमार कर्माचार्य र मोतिराज उपाध्याय निर्वाचित हुनुभएको शाखाका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी सदस्यहरुमा यामबहादुर चोखाल, सुरत केसी, भीमकुमारी बुढाथोकी, नवराज पौडेल, भरतकुमार पुन र अमर बानियाँ निर्वाचित हुनुभएको छ । सदस्य पदमा १६ जनाको उम्मेदवारी परेको थियो । रासस












प्रतिक्रिया