२९ आश्विन २०८३, बिहिबार

झुम्की, नरिसाउ ल !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

d oliझुम्की, मेरी माया

यतिबेला मायारुपी मनले थेग्न नसक्ने गरी सम्झनाका फूलहरू निरन्तर बर्सिरहेछन् । एकछिन ती सम्झनारूपी फूलहरुलाई चौतारोमा बिसाएर अन्यन्त्रै हिड्म की पनि लाग्छ । तर मेरी माया, मायाको भारी बिसाउन कहाँ सजिलो हुँदोरहेछ र ?

अँ, यतिबेला हाम्रो बारीमा लटरम्म आँप, लिची, आलुबखेडा फलेर मलाई कुरेर बसेका होलान् हैं । कठै ! म नआउने खबर थाहा पाए ती आँप, लिची, आलुबखेडा पनि निराश हुँदै हतोतासिस् होलान् । अनि भन्लान्– झुम्कीले वर्षैपिच्छे तँलाई भनेर कत्रो मेहेनत गरी हामीलाई हुर्काउँछे, फलाउँछे तँ भने हरेक पटक अनेकन बहाना बनाई शहरमै हराउँछस् ।

मेरी माया, यो मेरो बहाना होइन् बाध्यता हो । तिमीले सानो मन नबनाउनु । तिमीले मेरो बाध्यता बुझ्नेछौ र अहिलेसम्म बुझेकी पनि छौं ।

झुम्की, यतिबेला यो पापी शहरमा उराठ लाग्दो प्रचण्ड गर्मीको मौसम छ । जता हेर्यो उतै बडेमान घरैघर देखिन्छन् तर मन भने दूरदूर । मैले तिमीलाई हरेक पल तिम्रो माया, हरेक घडी तिम्रो याद भनेर शब्दमा भनिरहनु पर्दैन होला । तिमी आफै बुज्रक छौं । म त भन्छु तिम्रो रिसभित्र पनि झन् कति चोखो माया है ।

तिम्रो जीउ, ज्यान मखमली, सयपत्रीको थुङ्गा जस्तै फूर्तिलो तथा तन मन सदा स्वस्थ रहोस् भन्ने कामना गर्दै म हरेक दिन तिम्रो तस्बिरलाई स्पर्श गरिरहेको छु । मेरी माया, म आउन नपाएर के भो र ? तिमीलाई साथ दिने बा, तल्लाघरे काफी, सुली छदैछन् । उनीहरुसँगै रमाउनु, सुखोदुखो आपसमा बाँडेर मन हलुका बनाउनु ल ।

झुम्की, अब त धानको बेर्ना राख्ने बेला भयो होला ? बारीलाई खन जोत गरी बेर्ना हाल्न बालाई सघाउनु । हाम्रो मायाप्रेम पवित्र र चोखो छ । अझै रहनेछ । तिमीले कुनै शंकै नगर्नु । मैले यसलाई हरेक पल सुरक्षित राख्दै कहिल्यै नमर्ने गरी जोगाएर अटल राखेको छु । यो कुनै सपना होइन, सत्य हो मेरी माया ।

Mahila Jhumkiमेरी माया, कहिलेकाही स–साना कुरामा शंका गरी अनासयमा तिमी रिसाइ दिनाले मेरो मन साह्रै कुडिन्छ । हो, रिसाउने हक हामी दुबैको छ । त्यसलाई कसैले छेक्नु हुँदैन । तर तिमी रिसाउँदा फकाउने हक मेरो, म रिसाउँदा फकाउने हक तिम्रो । किनकी हामी दुबै एकअर्कालाई गुमाउन चाहन्नौं । होइन र लाटी ? मेरी माया संसारको कुनै पनि शक्तिले हाम्रो मायामा आँखा लगाउन सक्नेछैन । तिमी ढुक्क हुनु ।

झुम्की, उराठ प्रचण्ड यो गर्मीमा म बगैचाको लिचीको रूखको छहारीमा वसेर तिमीलाई सम्झिरहेको छु । तिमीप्रतिका मेरा भावनाहरू लेख्न खोज्छु तर पसिनाले निथ्रुकै भिजाएर एकाएक शब्दबिहीन हुन पुग्छु । भन्नु र लेख्नु पर्ने धेरै कुरा छन् । अब अर्को पटक ल ।
अन्तमा,

यो पत्र पाउने वित्तिकै मलाई तिम्रा कोमल हातले लेखेको पत्र पठाउनु । अहिलेलाई यत्ति मात्र हैं मेरी हजुर ।

उही

दिले

२०७३ जेठ

धनगढी, कैलाली ।