मलेसिया । सिन्धुपाल्चोकका पहिरो तथा बाढीपीडितका लागि मलेसियामा राहत संकलन सुरु गरिएको छ ।
पहिरो तथा बाढीपीडितको सहयोग तथा उद्धारका लागि नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको पहलमा राहत संकलन सुरु गरिएको हो ।
प्रतिष्ठान शाखाका कोषाध्यक्ष अर्जुन काफ्लेको संयोजकत्वमा गठित समितिले हालसम्म मलेसियामा कार्यरत ३७ नेपाली, एकजना बंगलादेशी नागरिक लगायतबाट ६४ हजार ८९० रुपैयाँ राहत संकलन गरिसकेको मलेसियाबाट खोटाङका चिसाङ शेर्पाले जानकारी दिनुभयो ।
पहिरो तथा बाढीपीडितको सहयोगार्थ शाखाले नेपालीको बाहुल्यता रहेको पेनाङ, जोहरबारु लगायतका सहरमा राहत संकलन गरेको जनाएको छ ।
मलेसियामा संकलन भएको राहत रकम प्रतिष्ठानको केन्द्रीय समितिमार्फत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक हुँदै पीडितको हातमा पठाउने तयारी गरिएको शाखाका सदस्य दीप दर्शनले बताउनुभयो । राहत सङ्कलनको कामलाई केही समय निरन्तरता दिइने शाखाले जनाएको छ ।














प्रतिक्रिया