– झलक पाली
डोटी, २१ जेठ । डोटीको कलेना गाविसमा रहेको सामुदायिक अध्ययन केन्द्रको साधारण सभाको निर्णयप्रति पनि शंका गर्दै डोटीका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले अनावश्यक दुःख दिएको आरोप लागेको छ ।
उक्त अध्ययन केन्द्रको गत बैशाख ३० गते सम्पन्न साधारण सभाबाट नयाँ समिति चयन भएको र नयाँ समितिको नाममा खाता सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला शिक्षा अधिकारी समक्ष तोक लगाउन लैजाँदा समेत अनावश्यक दुःख दिएको अध्ययन केन्द्रका वर्तमान अध्यक्ष शालिभान साउँदले बताए ।
साउँदले भने- ‘हामी विधानतः सबै प्रक्रिया पूरा गरी पटक–पटक जिशिअ समक्ष पुग्यौं, तर जिशिअले पूराना अध्यक्ष यतै बोलाएर ल्याउनुस् भन्दै दुःख दिए ।’ उनले थपे- ‘साह्रै अस्तव्यस्त रहेको अध्ययन केन्द्रलाई व्यवस्थित रुपमा अगाडी बढाउन समुदायले मलाई अध्यक्ष बनायो, पूराना अध्यक्षले शिक्षामा आउनै मानेन्, काम गर्न तिन दिनसम्म शिक्षामा धाईसक्यौं, अरु कुनै सल्लाह र जानकारी नदिई पूराना अध्यक्ष ल्याउ मात्रै भने ।’
सबै प्रक्रिया र कागजात सहित बारम्बार जिल्ला शिक्षामा धाउँदा पनि बिना कुनै कारण अड्काउने जिशिअको नियतमाथि अध्यक्ष साउँदले प्रश्न गरेका छन् ।
साधारण सभाको निर्णय संलग्न गरिएको भए पनि किर्ते कागजात आउन सक्ने भएकाले आफुले पुराना अध्यक्षलाई बोलाउन भन्दै काम अड्काएको जिशिअ खत्रीले स्वीकारे ।
त्यस क्षेत्रका श्रोत व्यक्ति लक्ष्मीप्रसाद ओझासँग बुझेर अब प्रक्रिया अगाडी बढाउन दिने जिशिअ खत्रीले बताए ।
वि.सं. २०६६ सालमा स्थापित सो अध्ययन केन्द्रको विधानमा प्रत्येक २ वर्षमा नयाँ कार्यसमिति चयन हुने उल्लेख भए पनि लगातार एउटै व्यक्ति अध्यक्ष रहेर अपारदर्शी ढङ्गले अगाडी बढेको पनि उनको आरोप छ ।
अध्ययन केन्द्रमा विभिन्न खालका अनियमितता भएको अध्ययन केन्द्रमा झण्डै डेढ वर्षदेखि कार्यरत सामाजिक परिचालिका पवित्रा कुँवर (साउँद) को भनाई छ ।
विस २०७१ असारदेखिको नियुक्ती आफुलाई दिईएको भए पनि २०७१ माघ महिनाबाट मात्रै आफुले तलब पाएको उनले बताईन् । आफ्नै नाता पर्ने व्यक्ति भएकाले यसभन्दा पहिले आफुले बाहिर कुरा भन्न नसकेको उनले बताईन् ।
झण्डै आठ वर्ष पहिले सञ्चालित सो अध्ययन केन्द्र अस्तव्यस्त रहेको कलेना क्षेत्रमा कार्यरत सामुदायिक विकास केन्द्रका शिक्षा परियोजना सहायक सरस्वती खड्काले बताईन् ।
अध्ययन केन्द्र यसभन्दा पहिले लथालिङ्ग रहेको र आगामी दिनमा सूचारु गर्नका लागि आफुले सक्दो सहयोग गर्ने त्यस क्षेत्रका श्रोत व्यक्ति लक्ष्मीराज ओझाले बताए ।
निवर्तमान अध्यक्ष जैबहादुर साउँदकै अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरिसकेको भए पनि आफुले वैधता नपाएकाले समस्या रहेको नव निर्वाचित अध्यक्ष साउँदले बताए । उक्त अध्ययन केन्द्रमा विभिन्न बिलहरु भएता पनि सामाग्रीहरु नभएको उनले बताए ।
आफुले वैधता पाउने वित्तिकै सम्पूर्ण हिसाबकिताव खोजिने उनको भनाई छ ।
यद्यपी सो अध्ययन केन्द्रको अघिल्लो वर्षसम्मको लेखापरिक्षण भने भईसकेको देखिएको उनले जानकारी दिए ।
उक्त अध्ययन केन्द्रको कार्यसमिति निष्क्रिय भएकाले अध्यक्षले एकाधिकार जमाएको उनले आरोप छ ।
हरेक सामुदायिक अध्ययन केन्द्रहरुको वार्षिक प्रगती विवरण, वित्तिय लेखा परिक्षण र चालु आवको कार्ययोजनाका आधारमा नविकरण गर्ने प्रावधान छ । तर स्थानीयबासीका अनुसार यतिञ्जेलका वर्षहरुमा कसरी लेखा परिक्षण भयो, कहिले साधारण सभा भयो, के–के निर्णय भयो भन्ने बारेमा कसैलाई जानकारी नहुने गरेको पाईएको छ ।
यस विषयमा निवर्तमान अध्यक्ष जैबहादुर साउँदको मोबाईल नं. ९८४८४७९२२० मा सम्पर्क गर्न खोज्दा मोबाईलको स्विच अफ गरिएको थियो ।
अध्ययन केन्द्रमा अनियमिता भएको सम्बन्धमा लिखित उजुरी आएमा जिल्ला शिक्षाले पनि अनुसन्धान गर्ने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक अम्बादत्त जोशीले बताए ।
डोटीमा जम्मा ३७ वटा सामुदायिक अध्ययन केन्द्र लागु भएका भए पनि गिरीचौका र बाँझककानी गाविसका २ वटा अध्ययन केन्द्र पूर्ण रुपमा बन्द रहेको र मान्नाकापडीको कालारुवा, बर्छैनको मष्टा र धिर्कामाण्डौको उज्यालो सामुदायिक अध्ययन केन्द्रको नविकरण नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
प्रक्रिया पूरा गरेका सामुदायिक अध्ययन केन्द्रहरुमा अनौपचारिक शिक्षा केन्द्रले जिल्ला शिक्षा कार्यालयमार्फत वर्षेनी ५० हजार अनुदान रकम निकासा दिने गरेको छ ।
जसबाट २६ हजार परिचालिकालाई तलबस्वरुप र बाँकी २४ हजार रकम अध्ययन केन्द्रको व्यवस्थापनका लागि निकासा दिने गरिन्छ ।
अनौपचारिक शिक्षा लिएकाहरुले फुर्सदको बेलामा अध्ययन केन्द्रमा गई पढ्न पाउन् भन्ने उद्धेश्यले सामुदायिक अध्ययन केन्द्रको अवधारणा अघि सारिएको हो । यसका साथै साक्षर र निरक्षरको तथ्याङ्क लिने, विभिन्न सिपमूलक र आयमूलक कार्यक्रमहरु समेत अध्ययन केन्द्रले सञ्चालन गर्न सक्दछन् ।
वर्षभरीमा उत्कृष्ट काम गर्ने सामुदायिक अध्ययन केन्द्रलाई थप ५० हजार सहित पुरस्कृत गर्ने गरिन्छ ।
शुरुमा एक निर्वाचन क्षेत्रमा एउटा अध्ययन केन्द्र स्थापना गर्ने भनिएको भए पनि पछिल्लो समय एक गाविसमा एउटा सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने भनिएको थियो । यद्यपी सबै गाविसहरुमा सामुदायिक अध्ययन केन्द्र स्थापना भने हुन सकेको छैन ।












प्रतिक्रिया