काठमाडौं, २५ साउन । प्रहरीले गुन्डा नाइकेहरुले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति खाज्ने विशेष संयन्त्र परिचालन गरेको छ ।
‘चरी’ भनिने गुन्डा नाइके दिनेश अधिकारी ‘इन्काउन्टर’मा मारिएसँगै प्रहरीले संगठित अपराध सञ्चालन गरी सम्पत्ति आर्जन गर्दै आएका आपराधिक पृष्ठभूमिका व्यक्तिको सम्पत्ति खोज्न सक्रियता देखाएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार डेढ दर्जन गुन्डा अझै पनि प्रहरी निगरानीमा छन् ।
प्रहरी उच्च स्रोतका अनुसार संगठित र आर्थिक अपराध तथा दुर्लभ वन्यजन्तु तस्करीबाट सम्पत्ति जोडेको आरोप लागेकामाथि अनुसन्धान जारी रहेको छ । ‘चरी’ मारिएपछि सत्तारुढ नेकपा एमालेका शीर्ष नेताहरु प्रहरीविरुद्ध एकपछि अर्को गर्दै सडकदेखि संसदसम्म आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।
तर, प्रहरीले गुन्डा नाइकेमाथिको कारबाही राजनीतिक प्रभावका आधारमा नरोक्ने प्रतिबद्धता जनाएको समाचार आजको कारोवार दैनिकले छापेको छ । ‘अपराधीमाथि कारबाही हुँदा आउने जस्तोसुकै दबाबको सामना गर्न हामी तयार छौं,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
चरी प्रकरणमा एमालेका नेताहरुले अनुसन्धानमा खटिएका प्रहरी अधिकारी र गृहमन्त्री वामदेव गौतमको राजीनामा नै मागिसकेका छन् । तर, राजनीतिक दबाबका बेला अनुसन्धान अघि बढाउन केही असहज भए पनि अराधविरुद्धको मिसन नरोकिने प्रहरीले स्पष्ट पारेको छ ।














प्रतिक्रिया