– धनिषा अधिकारी
म साहित्यको विद्यार्थी होइन । तर साहित्य अध्ययन र मनन गर्छु । कहिले काँहि पुस्तकहरु पनि पर्ने मेरो बानी छ । यही क्रममा दाङ कामको शिलशिलामा गएको समयमा मेरो हातमा साहित्यकार एवं पत्रकार सविन प्रियासनले लेख्नु भएको उपन्यास पुनरागमन हात लाग्यो । उपन्यासले यति धेरै मन छोयो कि ५ पटकसम्म उपन्यास दोहोराएर अध्ययन गरेको छु । उपन्यास अध्ययान गर्नेक्रममा उपन्यासका धेरैस्थानमा मेरो आँशु पनि बगेको छ । एकप्रकारले भन्ने हो भने उपन्यासले यसरी मनमा तड्पन, बेदनाको पोखरी बनाइँ दिन्छ कि गहिरिएर पढ्ने मान्छेका आँखाहरु ओभानो होलान भन्ने पक्षमा छैन । यसको साथै रोएको मनलाई खुशीमा उफ्रनका लागि निमेषभरमै उपन्यासका पात्रहरु सफल हुन्छन् । संघर्ष गरेपछि सफल भइन्छ भन्ने प्रशस्त उदाहरणहरु उपन्यासभित्र कैद छन् ।
पत्रकार एवं साहित्यकार सविन प्रियासनले बजारमा ल्याएको वहुचर्चित उपन्यास पुनरागमनमा धेरैकुराहरु पढ्न लाएक छन् । विषय बस्तुहरु खदिला छन् । तर म विकासप्रेमी व्यक्ति भएकाले यस भित्र रहेको मुलुकको समृद्धि र विकासको पाटोलाई यहाँ उठाउन खोजेकोछु । लेख्नेक्रममा के कस्तो लेखेको छु, त्यो मेरो लेखाइ अध्ययन गर्ने मान्छेले थाहा पाउँला । तर यो मेरो पहिलो प्रयास हो । भोलीका दिनमा उपन्यासभित्रका अन्य क्षेत्रलाई पनि मैले उठाउनेछु ।
पत्रकार महिलाहरुको संघर्षमा आधारित रहेर तयार पारिएको पुनरागमनमा अन्य विभिन्न क्षेत्रको प्रसंगहरु पनि उठाइएको छ । यहीक्रममा साहित्यकार प्रियासनले नयाँ संविधान निर्माणसँगै मुलुक समृद्धिको महाअभियानमा अग्रसर भएको र समृद्ध नपाल अब बन्नुपर्छ भन्ने कोणबाट आफ्नो विचार कलात्मक वरले पस्किनु भएको छ । महाभूकम्पपश्चात् थिलो थिलो भएको मुलुकलाई सबै मिलेर माथि उकास्न सकिन्छ भन्ने प्रसंगहरु उपन्यासभित्र धेरै ठाउँमा उल्लेख गरिएको छ । आकर्षक कभर डिजाईन रहेको पनुरागमन उपन्यास सुरु देखि अन्त्यसम्म कलात्मक र पठनिय बनाइएको छ । जसले गर्दा पाठकले उपन्यास पढ्न थालेपछि नसकिदासम्म छाड्न मन गर्दैन । तीनसय चार पृष्ठको उपन्यासमा पत्रकार महिलालगायत अन्य विभिन्न क्षेत्रमा संघर्ष गरिरहेका महिलाहरुको कथाहरु समेटिएका छन् । सबै भन्दा रोचक पाटो उपन्यासकारले सबै कथाबस्तुलाई मूल कथाको पात्रसँग जोड्न भ्याएका छन् । जसले गर्दा अध्ययन गर्ने पाठकलाई कुनै पनि ठाउँमा खल्लो महसुस हुँदैन ।
उपन्यासकार सकारात्मक चिन्तन राख्ने भएकैले हुनुपर्छ उपन्यासबाट मुलुकको समृद्धिको कामना गरिएको छ । महाभूकम्प पश्चात् ध्वस्त संरचनाहरु पुनः निर्माण हुनुपर्छ । नयाँ समृद्ध र सभ्य बन्नुपर्छ भन्ने चाहना उपन्यासकारको छ । जसले गर्दा उपन्यासकारले मेरो धरहरा म बनाउँछु भन्ने शीर्षकमा करिव पाँच पृष्ठ लामो कविता (पृष्ठ १४१–१४५) पनि उपन्यासमा समावेश गरेका छन् ।
देशप्रेम, राष्ट्रभक्ति
अनि
वीरगाथाले सजिएको
मेरो धरहरा म बनाउँछु ।
स्वतन्त्र, निश्छल
अनि
स्वाभिमानले ठाडिएको,
मेरो धरहरा म बनाउँछु ।
करोडौंँ करोड नेपालीको
आस्थाको केन्द्र बन्ने गरी
नेपाल अनि नेपालीको
विशिष्ट पहिचान झल्कने गरी
मेरो धरहरा म बनाउँछु ।
माथिको कविताको पंक्तिले मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, यसको लागि कसले के गर्नु पर्छ भन्ने कुराको सन्देश पनि दिएको छ । यसका साथै पछिल्लो समयमा विभिन्न नाममा भइरहेका अराजकता, उछृंखलता र आन्दोलनका बारेमा पनि उपन्यासमा तीखो प्रहार गरिएको छ । उपन्यासमा धेरै विषय बस्तुहरु छन् । म विकासप्रेमी भएकाले पुनरागमन भित्र उठाइएका विकासका मुद्धाहरुलाई मात्र मैले छोएको छु । यसबाट धेरै कुराहरु सिकन सकिन्छ । उपन्यासकारले उपन्यासको बिक्री रकम असहाय बालबालिकाहरुको शैक्षिक सहयोगार्थ खर्च गर्ने योजना बनाएका छन् । जसलाई हामी सबैले सकारात्मक मान्नुपर्छ । साहित्य समाजको दर्पण भएकाले समाज रुपान्तरणको सवालमा साहित्य बोल्नुपर्छ । पुनरागमन उपन्यास यस हिसाबले पनि उत्कृष्ट छ कि यसले समाजका सबै आयामहरुलाई सहि तवरबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेको छ ।
यस बाहेक अन्य पुस्तकमा जस्तै यस उपन्यासमा पनि केही कमजोरीहरु छन् । छिटफुटरुपमा भाषिक सुद्धता हराएको छ । उपन्यासभित्र उपन्यासकारले धरै व्यक्तिहरुको नाम धन्यवादकाक्रममा दिनुभएकोछ । यस्तो नगरेको भएपनि अझ राम्रो हुने थियो । अन्तमा उपन्यास समग्रमा राम्रो भएकाले यो अध्ययन गर्ने जोकोहीले कुनै न कुनैरुपमा केही न केही शिक्षा पाउँछ ।
(दाङ – हाल काठमाडौं)
















प्रतिक्रिया