काठमाडौं, २० जेठ । क्यासिनोसरह सेवासुविधा दिएर सञ्चालित एउटा अवैध जुवाखालमा पक्राउ परेका अभियुक्तलाई गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताको दबाबमा रिहा गरेको खुलासा भएको छ।
प्रहरीले गृहमन्त्री बस्नेतको नाम लिएर आएका दर्जनौं टेलिफोनपछि पक्राउ परेका नौ जनासहित घरधनीलाई शुक्रबार नै अदालत बुझाएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।
जुवा ऐनमा रहेको व्यवस्था फितलो रहेका कारण प्रहरीले सामान्यतया पक्राउ परेकालाई बढीभन्दा बढी हिरासतमा राख्ने गर्छ। तर ललितपुरको घटनामा प्रहरीले दबाबकै कारण पक्राउ परेकाको बयान र थप अनुसन्धान हतारहतार गरेर अदालत बुझाएको हो ।
जुवाखालबाट पक्राउ परेर दुई दिनमै रिहा भएकाले नै आफूहरु गृहमन्त्रीको पावरमा छुटेको बताउँदै हिँड्न थालेपछि रिहा प्रकरण बाहिर आएको हो ।
स्रोतका अनुसार लब क्षेत्री र केन्द्रका वरिष्ठ नेताले पक्राउ परेयता ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी र मुद्दा शाखाका डिएसपी ईश्वर कार्कीलाई रिहा गर्न दबाब दिएका हुन्। ‘विभिन्न दलका वरिष्ठ नेताको आउजाउ र हिमचिम उक्त जुवाघरमा थियो’, स्रोतले थप्यो, ‘लामो समयदेखि व्यावसायिक र व्यवस्थित रुपमा लाखौंको जुवा सञ्चालन भइरहेको हो ।’
प्रहरीले गत बुधबार साँझ ललितपुर, महालक्ष्मीस्थानमा सतभगत राउतले सञ्चालन गरेको जुवाघरमा छापा मारेर राउतसहित ९ जना जुवाडे पक्रेको थियो ।
पक्राउ परेका कृष्ण बोहरा, सन्जिव पाण्डे, महेश श्रेष्ठ, जनक महत, स्वर्णकुमार विष्ट, रवि खड्का, कुमार लिम्बु, सानु महर्जन र अञ्जन न्यौपानेलाई रिहा गराउन प्रहरीलाई गृहमन्त्री र केन्द्रका वरिष्ठ नेताले दबाब दिएका हुन् ।
राउतले आफ्नै घरमा चारैतर्फ क्लोजसर्किट क्यामरा जडान गरी क्यासिनोसरह सुविधा दिएर जुवा खेलाउँदै आएका हुन् ।
प्रहरी, सशस्त्र र सेनाका अवकाशप्राप्त वरिष्ठ अधिकारी, सरकारी कर्मचारी, न्यायाधीशदेखि काठमाडौंका ठूला व्यापारी र दलालको नियमित आउजाउ रहने उक्त घरमा बुधबार डिएसपी कार्कीको कमान्डमा खटिएको टोलीले छापा मारेको थियो ।
गृहमन्त्री बस्नेतका स्वकीय सचिव बिन्दमान बिष्टले मन्त्री र सचिवालयबाट प्रहरीलाई कारबाहीमा कुनै अवरोध र दबाब नदिएको बताए । उनले मन्त्री बस्नेतले प्रहरी कारबाहीमा कुनै अवरोध नगर्न स्पष्ट निर्देशन दिएकोसमेत बताए ।
परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले आफूलाई कसैले दबाब नदिएको दाबी गरे । उनले कानुनी प्रक्रिया पूरा भएकाले पक्राउ परेकालाई समयमै अदालत बुझाएको बताए ।















प्रतिक्रिया