
– झलक पाली
डोटी, १८ जेठ । सामाजिक कुप्रथाका रुपमा लिईने छाउपडी प्रथा हटाउन डोटीका विभिन्न पाँच गाविसहरुमा साथी शिक्षकहरु परिचालन गरिएको छ ।
अछाम जिल्लाका सिमा क्षेत्र नजिक रहेका डोटीका पूर्वीचौकी क्षेत्रका सानागाउँ, काँडामाण्डौ, गाँजरी, खिरसैन र बग्लेक गाविसमा साथि शिक्षकहरु परिचालन गरिएको छ । प्रत्येक गाविसका वडा नं. १ देखि ५ सम्म साथि शिक्षकहरु परिचालित छन् ।
रेस्टलेस डेभ्लप्मेन्टको सहयोगमा पीसविन बाजुराले सञ्चालन गरिरहेको सम्भव कार्यक्रम अन्तरगत छाउपडी प्रथा विरुद्धको अभियान परियोजनाले साथि शिक्षकहरु परिचालन गरिरहेको हो ।
उनीहरुले गाउँ–गाउँमा परम्परागत व्यक्तिहरु धामीझाँक्री, धार्मिक नेता, सामाजिक अगुवा, युवा, पुरुष, किशोरी समूह, विभिन्न महिला समूहहरु र विद्यालयमा समेत सचेतनामुलक कक्षा सञ्चालन गर्ने गरेको पीसविनका डोटी जिल्लामा कार्यरत कार्यक्रम अधिकृत भागरथी मडैले बताईन् ।
पीसविनले आफ्नो कार्यक्षेत्रमा बाल क्लब तथा युवा क्लब गठन, विद्यालय भित्र र बाहिरका युवाहरुसँग अतिरिक्त क्रियाकलाप सञ्चालन, छाउपडी प्रथा हटाउन अधिकारवालाहरु र कामवाहकबिच अन्तरक्रिया, छाउपडी प्रथा तथा महिनावारी भएका बेला गरिने भेदभावमा केन्द्रित लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी तालिम पाठ्यक्रम निर्माण गरि विद्यालय र समुदायमा लागु गर्ने, छाउपडी प्रथा हटाउन सरोकारवालाहरुसँग नीतिगत सुधारका लागि बहस सञ्चालनका कामहरु गरिरहेको उनले बताईन् ।
त्यस्तै, जीवन उपयोग सिपमा आधारित अभियान सञ्चालन, रेडियोमार्फत जनचेतनामूलक सन्देश प्रसारण लगाएतका कामहरु पनि गरिरहेको कार्यक्रम अधिकृत मडैले बताईन् ।
कैलाली र डोटी जिल्लामा सञ्चालित उक्त परियोजना कैलालीमा मे २०१५ देखि र डोटीमा नोभम्बर २०१५ देखि सेप्टेम्बर २०१७ सम्मका लागि लागु भईरहेको पीसविनका कार्यक्रम संयोजक हर्क बहादुर ओलीले जानकारी दिए ।
डोटीका हालसम्म विभिन्न २३ गाविसहरु विभिन्न सरकारी तथा गैर सरकारी संघसँस्थाको सहयोगमा छाउपडी गोठमुक्त भईसकेका भए पनि अवस्थामा खासै सुधार आएको भने पाईंदैन ।
त्यस्तै डोटीमा गत वर्ष नै छाउपडी प्रथा हटाउन पञ्च वर्षे रणनीतिक योजना तयार गरिएको भए पनि उक्त योजनाले गति लिन सकेको छैन ।
मध्ये तथा सुदूरपश्चिममा बढी व्याप्त मानिएको छाउपडी प्रथा हटाउन नेपाल सरकारले वि.सं. २०६३ बैशाख २६ गते कुरीति घोषणा गरीसकेको र छाउपडी प्रथा उन्मुलन निर्देशीका २०६४ समेत जारी गरेको थियो । यद्यपी निर्देशिका बमोजिम काम भने हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।
गाउँघरका सर्वसाधारणदेखि सरकारी कर्मचारीहरुले समेत छाउपडी प्रथा मान्ने गरेका छन् । कतिपय क्षेत्रमा भने विगतको तुलनामा निकै सुधार पनि भएको पाईन्छ ।
महिनावारी प्रजननका हिसाबले परिपक्व महिलामा स्वभाविक रुपमा हुने प्राकृतिक
प्रक्रिया भएता पनि यस विषयमा जनचेतनाको अभावले प्रथाकै रुपमा रहेकाले यस क्षेत्रको समस्याका रुपमा छाउपडी प्रथालाई पनि एक समस्या मानिन्छ ।
महिनावारी भएका महिलाहरुले गोरसपात, फलफुल लगाएतका खानेकुरा खान नहुने, असुरक्षित छाउ गोठमा बस्नुपर्ने, अरु मानिसलाई छुन नहुने, सोही समयमा भारी काम गर्ने लगायतका समस्या यस क्षेत्रमा देखिन्छ ।












प्रतिक्रिया