देशको समग्र राजनीति नै स्थीर अवस्थामा रहेजस्तो देखिएको छ । दोश्रो संविधान सभाले पनि गति लिन सकेको छैन् । सरकारको नेतृत्वमा रहेको कांग्रेस पुरानै रोगले आक्रान्त छ । सरकारमा पुगेपछि एउटै कांग्रेस जहिले पनि दुई वटा हुने गर्दछ । पुष्पकमल र वावुरामको माओवादी विराटनगरमै अल्झिरहेको छ । त्यस पार्टीको अवस्था निर्वाचन परिणामबाट सतहमा आएकै थियो, समयसँगै त्यसको नेतृत्व संकट झन्झन् बढ्दै गएको छ । तर, राष्ट्रिय राजनीतिलाई अग्रगति प्रदान गर्नु पर्ने आफ्नो भूमिका निर्वाह गर्न एमाले पनि त सशक्त देखिएको छैन् ।
नवौं महाधिवेशनको तयारी नै पुगेन भन्ने कूल तर्कका साथ एमाले केही सुस्ताउँदै अघि बढ्ने भएको छ । नेतृत्वमै रहेका कतिपयले शंका व्यक्त गरिसकेका छन्, फागुनमै अवधि पूरा गरेको वर्तमान नेतृत्व अब समय तन्काउने खेलमा छ । नाम नबताउने शर्तमा नेतृत्व पंक्तिमा रहेकाहरूको आशंका आमसञ्चार माध्यममा छाएका छन् । महाधिवेशन सर्ने भएपछि अब वैचारिक सवाल वा नेतृत्वका सम्बन्धमा चर्किएको वहसको पारो पनि केही झर्न सक्छ । साथै, नेतृत्वसम्बन्धी वादविवाद पनि केही मत्थर हुन सक्छ । तर राष्ट्रिय राजनीतिको तापमान पनि घट्नेछ । प्रष्ट छ, संविधान बनाउने वा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नयाँ संविधानद्वारा संस्थागत गर्ने राष्ट्रिय दायित्व नयाँ उर्जासहितको सशक्त एमालेले मात्र वहन गर्न सक्नेछ । नवौं महाधिवेशनको प्रतिक्षा त्यही कारण सारा राष्ट्रले
गरिरहेको हो । तर महाधिवेशनको तयारी नै सुस्त छ भन्ने जानकारी आधिकारिक रुपमा आएको छ ।
अघिल्लो संविधानसभाको म्यादजस्तै एमाले आफ्नो महाधिवेशनको मिति पनि पटक–पटक सार्दैछ । कतिले लख काटेका छन्, फेरि—फेरि पनि मिति सर्दै जाने संभावना छ । पार्टीकै केही नेतालाई लागेको छ, यतिखेर न देशमा राजनीतिक संकट छ, न महाधिवेशन सार्नुु पर्ने विशेष परिस्थिति नै विधमान छ । तर विश्वास गर्नु पर्दछ, राजनीतिक दस्तावेज तयारीको नेतृत्व गरिरहनु भएका अध्यक्ष झलनाथ खनाल कुनै विशेष परिस्थितिकै कारण विदेश भ्रमणमा जान लाग्नु भएको होला । यस विषयमा नेतृत्वले पार्टी पंक्तिलाई प्रष्ट पार्छ नै होला । ०६२/६३ को ‘शान्तिपूर्ण जनक्रान्ति’ पछिका यतिका वर्ष लराङतराङ गर्दै बिताएको हेक्का एमाले नेतृत्वलाई छैन भन्ने ठान्नु हुँदैन् । अनि त्यस्तो जनक्रान्तिलाई सफल पार्न राष्ट्रले अपेक्षा गरेको भूमिकाका सम्बन्धमा एमालेलाई ज्ञात छैन भन्नु पनि मूर्खता होला ।
सबैले राम्रैसँग थाहा पाएको कुरा के हो भने पटक–पटक म्याद सार्दा सार्दा अघिल्लो संविधानसभाले आमजनतालाई निराश तुल्याएको थियो । संविधानसभाको दोश्रो निर्वाचनपछि आममानिसमा जागेको प्रत्याशा फेरि सेलाउने र देशमा घोर निराशाको वातवारण छाउने खतरा घाँटी–घाँटी पुगेको छ । उत्साह एमाले पंक्तिमै देखिएको छ । यतिखेर महाधिवेशनबाट ताजगी ग्रहण गर्दै राष्ट्रिय राजनीतिलाई अग्रगति प्रदान गर्न उत्साहित छ, एमाले पंक्ति । तसर्थ पार्टी नेतृत्वले महाधिवेशनको मिति सार्नु पर्ने गरी उत्पन्न कुनै पनि विशेष परिस्थितिका सम्बन्धमा कार्यकर्ता पंक्तिलाई सुस्पष्ट जानकारी गराउन जरुरी हुन्छ । आमजनताको पनि यस विषयमा सुसूचित हुने हक छ ।
संविधानसभाको दोश्रो निर्वाचनको परिणामले ल्याएको उत्साहमा तुषारापात हुन सक्ने खतरा साँच्चै बढ्दै गएको छ । दोश्रो निर्वाचनका क्रममा जनताले सोचेका थिए, अहिलेसम्म जे हुने भयो, अब नयाँ सुरुवात हुनेछ । तर महिनौ बितिसक्यो, संविधान निर्माणका दिशामा नौलो उत्साह श्रृजना गर्ने उल्लेखनीय केही हुन सकेको छैन् । यस्तो अवस्थामा शान्तिपूर्ण जनक्रान्तिलाई पूर्णता प्रदान गर्ने अभिभारा एमालेले कसरी पूरा गर्छ त ? केही महिनायता महाधिवेशनको पिङमा मच्चिदा मच्चिंदै अहिले आफैं थाकेजस्तो देखिएको एमालेसँग जनताको प्रश्न यही छ ।












प्रतिक्रिया