२९ आश्विन २०८३, बिहिबार

दाङमा दुइवटा एमालेका रहस्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basant-Aryalविगत केही समय देखिको नेकपा एमाले दाङ्गको विवाद अन्ततः समानान्तर कमिटी निर्माण सम्मको अवस्थामा आइपुगेको छ । पाटी छिन्न भिन्न हुदाँ पनि समाधानको “वैज्ञानिक” मार्ग खोज्नु भन्दा गुटगत नेतालाई काखीमा च्यापेर आफुलाई नेतृत्वको दावी गर्नमा नेताहरु अग्रसर छन् । गुटगत सोच र पदीय लोलुपताले पाटीलाई खोक्रो पारेर भए पनि अस्तित्वमा रहन चाहने स्वार्थको चँगुलमा यतिवेला एमाले दाङ्ग नराम्रोसँग प्रताडित भएको छ । “अवैधानिक” र “वैधानिक” को लडाइले पाटीलाई सिद्धान्त र विचारले भन्दा पनि हस्ताक्षरले निर्देशित गरिरहेको छ ।

एमाले दाङ्गको आन्तरिक विवाद अहिले वजारमा छरपस्ट भएको छ । एक अर्कालाई मिडिया र सार्वजनिक समारोहबाटै हिलो छ्यापेर पानी माथिको ओभानो वन्नमा जिम्मेवार नेताहरुको ध्यान केन्द्रीत छ । विगत लामो समयदेखिको लडाइ अहिले उत्कर्षमा पुगेको छ । तत्कालिन निर्वाचित अध्यक्ष नरुलाल चौधरीले केन्द्रीय अधिवेशनको सदस्य पदमा उम्मेदवारी दिएपछि विधान अनुसार उपाध्यक्ष जोगवहादुर रानाको काँधमा नेतृत्व सुम्पेपछिको अवस्थाबाट सुरु भएको आन्तरिक संघर्षले चरम रुप धारण गरेको छ । पाटी जीवनमा निरन्तर देखापर्ने संघर्ष भन्दा फरक ढँगले देखिएको यो संघर्षले पाटीलाई कुन दिशामा लैजान्छ, अझै हेर्न बाँकी छ ।

पछिल्ला दुई संविधान सभाको निर्वाचनमा देशको समग्र राजनीतिमा महत्वपूर्ण भुमिका राख्ने युवराज ज्ञवाली र शंकर पोख्रेल आन्तरिक लडाइकै कारणले पराजित मात्रै होइन माओवादी र काँग्रेसल पाँच वटै सिट जित्दा पनि एमाले मुकदर्शक वन्ने अवस्था देखापर्यो । शुन्यताका विलिन भएको दाङ्ग जिल्लामा एमालेको अवस्था गुटगत राजनीतिले छियाछिया पारेको छ । आफैभित्रको लडाइले वाहिरका दुश्मनहरु सजिलै अगाडी वढ्ने आधार भेटिएको छ । देशले पत्याएका नेतालाई निर्वाचनमा पराजित गरेर आत्मरति लिने कार्यकर्ताको थलो वनेको छ, एमाले दाङ्ग । सहमतिको विन्दुबाट अगाडी वढ्ने भन्दा पनि असहमतिका वुँदाहरु कोट्याई कोट्याई पार्टीलाई विभाजनको मोडमा ल्याउने सम्मका क्रियाकलाप यहाँ देख्न सकिन्छ । माक्र्स र लेनीनको फोटोमा माला लगाउने वेलामा वाहेक कहिल्यै पनि कम्युनिष्टहरु एकिकृत हुन सक्दैनन् भन्ने आरोप दाङ्गको सवालमा सिद्ध हुदै गएको छ ।

विगतमा एमाले दाङ्गमा वलियो मानिने केपि गुटले जिल्ला कार्यसमितिमा आफ्नो वहुमतलाई आधार मानेर वेलावेलामा मिटिङ्गको आयोजना गर्न आग्रह गर्दा पनि नमान्ने माधव नेपाल निकट अध्यक्ष जोगवहादुर राना पछिल्लो समय केपि गुट टुक्राएर आफ्नो वर्चस्व भएपछि अहिले वहुमतको राजनीतिमा वलियो ढँगले उभिएका छन् । जिल्लामा केही समय यता कमजोर वन्दै गएको वलि गुट र वलियो वनेको नेपाल गुटले एक अर्काको अनुपस्थितिमा आधिकारिक निर्णय भन्दै गुटगत निर्णयहरु गर्दै आएका छन् । आधिकारिताको लडाइले कहिल्यै पनि पाटीलाई एउटै मुठीमा वाँध्न सक्दैन । सही नेतृत्व हस्ताक्षर गन्नमा भन्दा पनि असहमतिलाई साँघुरो वनाउने मार्गमा अगाडी वढ्नु श्रेयकर हुन्छ । पछिल्लो राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने धेरै अगाडी गर्ने भनिएको निर्धारित जिल्ला अधिवेशन समेत समयमा गर्न नदिने मनसायमा अहिले केपि गुट पुगेको छ । चारैतिरबाट एक्लिएपछि अहिले केपी गुट “कोठामा थुनेर चुटाइ खान लागेको .विरालो” जस्तो आक्रामक हुदै गएको छ भने वलियो अवस्थामा रहेको नेपाल गुटले अलग विचार राखेकै आधारमा केपि गुटका नेताहरुलाई “कारवाही ” भन्दै असहमतिलाई झनै गहिरो वनाउँदै लगेको छ । यसले जिल्लामा कमजोर अवस्थामा रहेको एमालेको साख झनै कमजोर वनाएर लगेको छ ।

जिल्लामा लामो समयदेखि हुदै आएको विवादलाई सही समाधान गर्नुको साटो वेलावखत दाङ्गमा झुल्कने केन्द्रीय तहका नेताहरुले पनि कसरी आफ्नो गुटलाई अगाडी वढाउन सकिन्छ भन्ने सोचमा रहेको पाइन्छ । यसरी सत्ताको वागडोर सम्हालेको पाटीको जिल्लामा भएको गुटवन्दीले सामान्य एमालेका कार्यकर्ता र शुभेच्छुकहरु निराश हुने अवस्था छ । सरकारले आफ्नो कार्यतालिका अनुसार स्थानिय निर्वाचन समयमै वनायो भने यही विवादका कारण पाटीको गति संविधान सभा निर्वाचनको जस्तै हुने पक्का छ ।

एमालेको केन्द्रिय नेतृत्वको लाचारिपन

जिल्लामा पाटीको अवस्था नराम्रोसँग विग्रदा पनि अहिले केन्द्रीय तहबाट वलियो पहल हुन सकिरहेको छैन । विवाद सुल्झाउन सक्ने भन्दा पनि कुनै एक गुटलाई पक्षपोषण गर्ने खालका केन्द्रीय नेताहरु जिल्लामा झुल्कने गरेकाले पनि केन्द्रको सिमित पहल उपलब्धिविहिन भएको हो । जिल्लाको अवस्थालाई मनन नगरेर एउटा गुटले गरेको निर्णय अर्को गुटले उल्ट्याउने खालको विभाजनमुखि भुमिका केन्द्रको देखिएको छ । पार्टीमा सामान्य र इमान्दार कार्यकर्ता निराश हुनेगरि भइरहेका “रडाको” को उचित सम्वोधनका लागि अहिले पनि केन्द्रले भुमिका वलियो वनाउन सकेको छैन । केन्द्रीय नेताहरुले समेत सहमतिको विन्दु खोजेर उचित समाधान गर्नुभन्दा पनि आफ्ना गुटका मान्छेलाई भेटेर मात्र गुटलाई फाइदा हुने निर्णय गर्ने प्रवृति हावि हुदै गएको छ । केन्द्रको विभाजनकारी भुमिका हुनाले पनि विवादले विकराल रुप लिदै गएको हो ।

गुटगत दृष्टिकोणको प्रवलता

समग्र पाटीलाई कसरी वलियो वनाउन सकिन्छ भन्दा पनि गुटलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने सोचले अहिले एमाले दाङ्गमा भाडभैलो ल्याएको हो । कुनै समय वलियो रहेको केपि गुटले नेपाल गुटको अस्तित्व नामेट पारेर आफु अनुकुल पाटी सञ्चालन गर्नमा आफुलाई केन्द्रमा राखे पनि अहिले वलियो वनेको नेपाल गुटले सोही रवैया देखाएको छ । कमजोर गुटलाई पनि आत्मविश्वास दिनुको साटो कमजोरीपनको खिल्ली उडाउने प्रवृत्ति यहाँका नेताहरुमा देखिएको छ । सवैलाई एउटै विन्दुमा मिलाएर लैजाने भन्दा पनि आफ्नो गुटका मान्छेलाई मात्र पाटीको “विजनेस” दिने गैर जिम्मेवार पुर्ण व्यवहारले विवादको डोरी लामो र कसिलो वनाउदै लगेको छ । पाटी एक ढिक्का भए मात्रै वाह्य शत्रुसँग वलियो ढँगले लड्न सकिन्छ भन्ने सोचको सवै नेतामा कमि देखिन्छ ।

भातृ संगठनमा भाडभैलो

भनिन्छ “वावु गतिलो भए पो छोरो गतिलो हुन्छ ” अहिले जिल्लामा माउपाटीमा भएको गुटवन्दि र विवादको असर भातृसंगठमा सोझै परेको छ । अनेरास्ववियुको निर्वाचित कमिटीलाई अस्विकार गर्ने मात्र होइन । अखिल नेपाल महिला संघको त समानान्तर कमिटी नै गठन भएको छ । युवासँघका क्षेत्रिय समितिहरुको अवस्था पनि सोही रहेको छ भने विजौरी गाविस अध्यक्ष गठनमा पनि विवाद चुलिदै गएको छ । यसरी भातृसंगठनमा समेत आफु निकटका मान्छेहरुको भेला गरेर सर्वमान्य कमिटी निर्माण गर्ने क्रम वढ्दै जादाँ एमालेमा आस्था राखेर काम गर्ने मान्छेहरुमा एमाले हुनुको गर्व हराउदै गएको छ । पाटीको आन्तरिक जीवनमा आएका खटपटले भातृसँगठनलाई समेत टुक्रा टुक्रामा विभाजित गर्दै लगेको छ । पाटीलाई एक ढिक्का नवनाउँदा सम्म भातृसंगठन भित्रको विमती पनि साम्य हुने सम्भावना टरेको छ ।

अल्पमतको “भय”

राजनीतिका कोही पनि स्थायी शत्रु या मित्र केही पनि हुदैन । शत्रुता र मित्रताको परिभाषा समयले दिने गर्दछ । जिल्ला कमिटी मिटिङ्ग संयुक्त रुपमा अहिले वस्न सकिरहेको छैन । जसको प्रमुख कारण अल्पमतमा रहेकाले गरेको आशंका नै हो । कुनै समय मिटिङ्गको नामै सुन्न नचाहने जोगवहादुर राना अहिले मिटिङ्गको रटान लगाउदै आउनु र कुनै समय मिटिङ्ग आयोजनाको माग गर्दै आएका हुकुम वस्नेत पक्षधर पछिल्लो समिकरण पछि मिटिङ्गबाट भाग्नुकोे कारण नै यही हो । वहुमतले अल्पमतमाथि अनावश्यक ढंगले निर्णय लाद्न खोज्ने परम्पराले गर्दा पनि यस खालको समस्या अहिले देखिएको छ । यही अल्पमतको भयले आफु निकटलाई मात्रै खवर गरेर मिटिङ्गको आयोजना गर्ने अनि मनोमानी ढँगले निर्णय गर्ने खालको अनैतिक र सहमति विपरित हुने खालका क्रियाकलापहरुले पनि पाटीको विवादलाई वलियो पार्दै लगेको छ ।

अभिभावकत्वको कमि

जिल्लामा अहिले सर्वमान्य नेताका रुपमा कोही पनि स्थापित हुन सकेका छैनन् । स्थानिय देखि केन्द्रमा रहेका सवै नेताहरुले पनि अभिभावकत्व भुमिका निर्वाह गर्नुको साटो स्वार्थमा अगाडी वढिरहेको पाइन्छ । सवैले मान्ने नेताको कमिले गर्दा पनि आ आफ्नै ढँगले अगाडी वढ्ने परम्परा स्थापित हुदै गएको छ । पाटीको यति लामो जीवनमा जिल्लामा अभिभावक मान्ने खालको नेता नहुनु एमाले दाङ्गका लागि दुःखको कुरा हो । पाटीमा जवसम्म सवैलाई एउटै वाटोमा हिडाउन सक्ने नेतृत्वको अभाव रहन्छ तवसम्म साना साना विवादले पनि चुलि चुम्ने गर्दछन् । केन्द्रीय तहको राजनीति गर्नेले पनि सवैको साँझा व्यक्तित्व भन्दा पनि कुनै गुटको नेतृत्व गर्नमा आत्मरति लिने भएकाले पनि अभिभावकको अभाव रहेको हो ।

एमाले दाङ्गमा वढ्दै गएको विवादलाई वहुमतको नाममा हस्ताक्षर गनेर मात्र भन्दा पनि सवैले जीतको महसुस हुने गरि सही निष्कर्षमा पुर्याउनु वुद्धिमानी हुन्छ । एक अर्कालाई कारवाही गर्दै अगाडी वढ्ने हो भने पाटीको कमजोर अवस्था झनै कमजोर भएर जाने छ । कुनै समय एमालेको गड जस्तै मानिने दाङ्गमा वत्ति वालेर खोज्नुपर्ने अवस्था नआओस् ।