घोराही, १७ जेठ । नेकपा एमाले दाङ जिल्ला कमिटीको १५ औंं पूर्ण बैठक सोमबार जिल्ला पार्टी कार्यालय भरतपुरमा बस्यो ।
एमाले दाङ जिल्ला अध्यक्ष जोगवहादुर रानाको अध्यक्षता एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता एवं जिल्ला इञ्चार्ज मेटमणि चौधरीको विशिष्ट आतिथ्यमा बैठक बसेको थियो ।
बैठकले जिल्ला कमिटीमा रिक्त पदमा सदस्यहरु थप गर्ने, सचिवालय विस्तार र पार्टी विरोधी गतिविधि गर्नेलाई कारवाही गरेको बैठकपछि प्रचार विभाग प्रमुख श्याम डाँगीले जानकारी दिनुभयो । बैठक स्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख डाँगीले एमाले दाङले गरेका निर्णयहरु सुनाउनुभएको थियो ।
जिल्ला कमिटीमा रहेका पूर्ण सदस्य ६७ मध्य ४६ जना र बैकल्पिक सात जना गरेर कुल ५३ जनाको उपस्थिति रहेको जानकारी दिदै प्रचार विभाग प्रमुख डाँगीले जिल्ला कमिटीको बैठकबाट जिल्ला सचिवालयमा सात जना र जिल्ला कमिटीमा २८ जनालाई थप गरिएको जानकारी दिनुभयो । थपिएको समेत गरेर नेकपा एमाले दाङ जिल्ला कमिटी एक सय १५ सदस्यीय भएको छ ।
बैठकले नेकपा एमाले दाङका सचिवालय सदस्य एवं क्षेत्र नं. ४ का इञ्चार्ज मनोहर बुढाथोकीले पार्टीहित विपरित गुटबन्दी गर्दै हिडेको भन्दै दुई बर्षका लागि साधारण सदस्य समेत नरहने गरेर निलम्बन गर्ने निर्णय गरेको छ । केही दिन अघि बसेको सचिवालयको बैठकले लिखित रुपमा स्पष्टिकरण सोध्ने निर्णय गरेपछि सोधिएको स्पष्टिकरणको जवाफ नदिएर उल्टै पार्टीलाई बदनाम गर्ने गरी गतिविधि गरेको भन्दै बुढाथोकीलाई सोमबारको बैठकबाट निलम्वन गर्ने निर्णय गरिएको बताइएको छ ।
बैठकले सुरामणि बेल्वासे, शरद अधिकारी, मानवहादुर विक, नेत्रमणि लामिछाने, भुपवहादुर केसी, सीमा न्यौपाने र शान्ता चौधरीलाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
यस्तै क्षेत्र नं. १ को इञ्चार्जमा कुलवहादुर केसी र सह इञ्चार्जमा निर्मला घिमिरेलाई जिम्मेवारी दिएको छ । बैठकले क्षेत्र नं. २ को इञ्चार्जमा शान्ता चौधरी र सह इञ्चार्जमा डम्मर पुनलाई जिम्मेवारी दिएकोछ । क्षेत्र नं. ३ को इञ्चार्जमा अमर ओली र सह इञ्चार्जमा खिमवहादुर केसी हुनुहुन्छ भने क्षेत्र नं. ४ को इञ्चार्जमा देवराज विश्वकर्मा र सह इञ्चार्जमा अमर खड्कालाई जिम्मेवारी दिएको छ । बैठकले क्षेत्र नं. ५ को इञ्चार्जमा सावित्रा विकलाई र सह इञ्चार्जमा चुर्ण वलीलाई जिम्मेवारी दिएको छ ।
यस्तै गरी जिल्ला कमिटीको बैठकले मेघराज भुषाल, पदम केसी, विष्णु केसी, होमवहादुर बस्नेत, डिला डाँगी, एम एन शाह, कृष्ण गोपाल गुप्ता, मानवहादुर बस्नेत, केशव न्यौपाने, तारा देवकोटा, गेहेन्द्र बस्नेत, तोर्ण केसी, कुलवहादुर लामिछाने, टंक विश्वकर्मा, विजय विश्वकर्मा, सुशिला बुढाथोकी, विकीरण गौतम, रविलाल बस्नेत, सुरेश आचार्य, मोहन सुनार, बलदेव आचार्य, शिल्पा चौधरी, मणिराज पुन, पवन रिजाल, तिलक डाँगी, यमा पुन, बलवहादुर विश्वकर्मा र किरण भण्डारीलाई सदस्यमा मनोनित गरेको छ ।
बैठकले एमाले दाङका नाममा केही दिनयता सामाजिक सञ्जाल र छापाहरुमा आएको विषयका बारेमा जिल्ला सचिव हुकुम बहादुर बस्नेतसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको बैठक पछि प्रचार विभाग प्रमुख डाँगीले जानकारी दिनुभयो । बैठकले केही दिन अघि विजौरीमा नयाँ कमिटी चयन गरिएको भन्ने कुरा बैधानिक नभएको र जेठ १२ गते भएको महिला संघको अधिवेशन आधिकारिक भएको निर्णय गरेको छ ।
यस्तै, आगामी भदौको २५ गते देखि एमाले दाङको १२ औं जिल्ला अधिवेशन गर्नका लागि सचिवालयले गरेको निर्णय अनुमोदन गरेको छ । अधिवेशन हुनु पूर्व अर्थात असारभित्र पार्टी सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन दिने निर्णय गरेको छ । बैठकले आगामी जेठ २० गतेका दिन सचिवालय र २७ गतेका दिन जिल्ला कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।
बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासीले एमालेलाई कमजोर बनाउनका लागि हुने दुस्प्रयासलाई सफल हुन नदिने बताउनुभयो । उहाँले पार्टी कामलाई व्यवस्थित बनाउन र पार्टी काममा लाग्न जिल्ला कमिटीलाई निर्देशन दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय कमिटीका पूर्व सल्लाहकार छविलाल वली, एमाले दाङका पूर्व सचिव मेघवहादुर विसी, पूर्व राष्ट्रिय परिषद सदस्य टोपेन्द्र केसी, अखिल नेपाल किसान महासंघ क्षेत्र नं. ५ का सह इञ्चार्ज टिकाराम खड्का, एमाले राप्तीका पूर्व सदस्य सीता न्यौपानेले बोल्नुभएको थियो । बैठकको संचालन जिल्ला कमिटी उप सचिव बामदेव खनालले गर्नुभएको थियो ।












प्रतिक्रिया