
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन यहि जेठ १९ गते हुँदैछ । नेपालमा पहिलोपटक हुन लागेको यस निर्वाचनमा आफ्नो संगठनको जित दिलाउन निजामती कर्मचारीका ट्रेड युनियनहरु निकै लागि परेका छन् । हाल देशमा क्रियाशिल कर्मचारी संगठनहरुमध्ये नेपाल निजामती कर्मचारी संगठनले यो निर्वाचनलाई निकै महत्वका साथ लिएको छ । र, उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न योजनाबद्धरुपमा लागि परेको छ । यसै सन्दर्भमा निजामती कर्मचारी संगगठनका अध्यक्ष पुण्य ढकालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
निजामती क्षेत्रमा आधिकारिक ट्रेड युनियन निर्वाचन जेष्ठ १९ गते हुदैछ तयारी कस्तो छ ?
हाम्रो संगठन चैत्र २८ र वैशाख १० गतेका लागि पूर्ण तयारीमा रहेको थियो । थप समय पाएकाले जेठ १९ गतेलाई हाम्रो तयारी पूर्ण रुपमा भएको छ । १७ जेठवाट आचारसंहिता लागू हुने भएकाले अहिले हाम्रो अन्तिम प्रचारप्रसार र सभाको कार्यक्रम छ । देशव्यापी हाम्रा कार्यकर्ताहरु जेठ १९ गतेको पर्खाइमा छन् ।
यो निर्वाचनको महत्वलाई कसरी हेर्नु भएको छ ?
यो निजामती क्षेत्रमा हुने पहिलो निर्वाचन भएकाले यस्को आफ्नै खालको महत्व छ । हाम्रो देशका लागि पहिलो अभ्यास, प्रयोग र अनुभवको रुपमा यस निर्वाचनलाई हेरिएको छ । विश्वमा हुने विरलै घटनाको रुपमा हाम्रो देशमा यो कार्य हुन गइरहेको छ । मेरो बिचारमा यो निर्वाचन हाम्रो देशको सार्वजनिक प्रशासन समृद्धिको ढोका खोल्ने प्रस्थान बिन्दुको रुपमा हुने अपेक्षा छ । ट्रेड यूनियनको मूल्य, मान्यता सस्कारयुक्त वनाउने कोशेढुङ्गाको रुपमा स्थापित हुने आशा गर्न सकिन्छ र विश्वमा रहेको निजामती सेवाको ट्रेड युनियनहरुले अनुकरण गर्ने कार्यको थालनी भई नेपालका निजामती कर्मचारीले हाम्रो देशलाई विश्वमा थप परिचय दिने कार्य हुने विश्वास लिन सकिन्छ ।
यस निर्वाचनवाट तपाईंले आशा गरेजस्तो अवस्था हुनसक्छ भन्ने निश्चितता कसरी गर्न सकिन्छ ?
तपाईले भने जस्तो सहज सुनिश्चितताको स्थिति नहुने कुनै कारण म देख्दिन । उच्च मनोवल, कार्य गर्ने क्षमता सहितको लक्ष्य र सहि मानेमा ट्रेड यूनियनको प्रयोग गर्ने हो भने माथि मैले भने जस्तो अवस्था यो निर्वाचन पश्चात हुनैपर्छ नत्र राज्यको यत्रो ढुकुटी लगानी र जनशक्ति खर्च गरेको अर्थ नै के रहन्छ ? निर्वाचनले मुलुकको सम्वृद्धि खोज्नै पर्छ भन्ने मलाई लाग्छ ।
तपाईको यत्रो आशा हुदा संगठनको अवस्था चाहि नेतृत्व गर्न सक्ने परिणाम ल्याउन सक्छन् त ?
अवश्यनै । नेपालको निजामती क्षेत्रमा हाम्रो संगठनको भूमिका ऐतिहासिक गर्व गर्न लायक र स्मरण योग्य छन् भन्दा अतिशयोक्ति हुँदैन । हामी कुरामा भन्दा काममा विश्वास गर्ने सुयोग्य अग्रजहरु वाट तयार भएका सन्ततिहरु हौ । राम्रो शिक्षा,उपयुक्त लक्ष्य, सहि कार्ययोजना र कार्यान्वयन गर्ने क्षमताशिल जनशक्तिको उपस्थिति हाम्रो संगठनका विशेषताहरु हुन । यसर्थ हाम्रो संगठनले यस निर्वाचन मार्फत देशको सार्वजनिक प्रशासन हाँक्ने नेतृत्व स्थापित गर्ने परिणामको पर्खाइमा छौ । हाम्रा थप विजयका र सेवाग्राहीका नजरमा प्रशासन सकारात्मक हुने दिनका रुपमा पहिलो नम्वरमा विजय हुने निश्चित छ ।
निर्वाचनपछि तपाईको संगठनको नेतृत्व कस्ले गर्ने टुङ्गो गर्नु भएको छ ?
यो निर्वाचन लोगोमा प्रतिस्पर्धा गर्ने भएकाले हामीले व्यक्ति उम्मेदवार घोषणा गरिरहेका छैनौ । निर्वाचन परिणाम आएपछि केन्द्रीय कार्यसमितिको वैठक वसी निर्णयमा पुग्ने छौ । स्वभाविक छ अहिले मेरो नेतृत्वमा संगठन चुनावी प्रतिस्पर्धामा अगाडि बढेको छ । केन्द्रीय समितिका साथीहरुवाट क्षमता र विवेक अवश्यै प्रर्दशति हुने मेरो विश्वास छ । हामी सहज ढंगवाट नेतृत्व छनौट गरि योग्य र सक्षम नेतृत्व प्रदान गर्ने छौ ।
अरु केहि भन्नु छ ?
नेपालका निजामती कर्मचारीका लागी र हामी ट्रेड युनियनिष्टका लागी यो सुनौलो अवसर हो । यस निर्वाचनमा हामी भाग लिन र मतदान गर्न कोहि नछुटौ र वञ्चित नहोऔ । म सवै मतदातालाई आह्वान गर्न चाहान्छु । पछुतो नहुने गरी विवेक पु¥याई सहि ट्रेड यूनियनलाई मतदान गरि नेतृत्व गर्ने जिम्मेवारी सुम्पौँ ।
प्रस्तुतिः प्रकाशचन्द्र भट्टराई













प्रतिक्रिया