रत्ननगर (चितवन), २४ साउन । चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील कानुन व्यवसायी समूह (पिएलए) बाट नेतृत्व गर्नुभएका चुडामणि सापकोटा निर्वाचित हुनुभएको छ ।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार प्रजातान्त्रिक कानुन व्यवसायी समूह (डिएलए)बाट नेतृत्व गर्नुभएका उम्मेद्वार नीलकण्ठ अधिकारीलाई ११ मतले पछि पार्दै सापकोटा विजयी बन्नुभएको हो ।
प्रगतिशील कानुन व्यवसायी समूहले अधिकांश पद जितेको बार एसोसिएसन चितवनका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । यस्तै उपाध्यक्षमा प्रगतिशील समूहकै भोलानाथ नेपाल र सचिवमा नुनराज सिलवाल विजयी हुनुभयो ।
कोषाध्यक्षमा भने प्रजातान्त्रिक कानुन व्यवसायी समूहका उम्मेद्वार लक्ष्मीप्रसाद पाठक विजयी हुनुभएको छ ।
सदस्य र पार्षद्मा पिएलएकै बर्चस्व भएको छ । सदस्यमा पिएलएका विकास गुरुङ, सूर्य बोहरा, शिवराम महत्तो, महेशचन्द्र न्यौपाने, विष्णु बास्तोला तथा डिएलएकी राधा उपाध्याय र श्रीराम दवाडी विजयी हुनुभयो ।
यस्तै अधिवेशनले नौ जना केन्द्रीय पार्षद्समेत निर्वाचित गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले विजयीपछि संक्षिप्त प्रतिक्रिया दिँदै कानुन व्यवसायीको हकहितमा क्रियाशील हुने बताउनुभयो ।
















प्रतिक्रिया