९ कार्तिक २०८३, सोमबार

देउवा कहाँ–कहाँ असफल भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher bahadur deuwa(3)काठमाडौं, ११ जेठ । कांग्रेस विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनसँगै विभागहरूलाई पूर्णता दिनुपर्ने व्यवस्था छ ।

तर, १३औँ महाधिवेशन भएको अढाई महिना बित्दा पनि मनोनयन हुन सकेको छैन, विभाग गठन भएका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कांग्रेसमा १४ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । ती सदस्यमा महाधिवेशनमा पराजित आफ्नो पक्षका नेताहरूलाई ल्याउने कि नयाँलाई ल्याउने भन्नेमा देउवा अप्ठ्यारोमा परेका छन् ।

पराजित महालक्ष्मी उपाध्याय डिना, पद्मनारायण चौधरीसहितका नेता तथा अर्को पक्षका अशोक कोइरालालगायतलाई ल्याउनुपर्ने दबाब देउवालाई छ ।

आफू बहुमतमा रहने गरी अर्को पक्षका नेतालाई सदस्य मनोनीत गर्नुपर्ने बाध्यतामा उनी छन् । नेता पिएल सिंहलाई भने सदस्यमा ल्याउने तयारीमा उनी छन् ।

सभापति देउवाले उपचारमा आफू भारत जानुपरेको र नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला अमेरिका गएकाले छलफल नगरी निर्णयमा पुग्न समस्या भएको बताउने गरेका छन् । तर, जेठ मसान्तसम्म विधानत: दुई महिनामा गर्नुपर्ने सबै काम एकैपटक टुंग्याउने तयारी देउवाले गरेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए ।

‘म आफैँ उपचारको क्रममा चार दिन भनेर १० दिन दिल्ली बसेँ । म आएपछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको चयन पटक–पटक गर्दा विवाद हुनसक्छ, अब एकैपटक टुंग्याउँछु ।’ संसद्मा बजेटको सेसन सकिएपछि केन्द्रीय समिति बैठक राखेर सबै काम टुंग्याउने तयारी देउवाको छ ।

कांग्रेसको १३औँ महाधिवेशनले २५ फागुनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्‍यो । सभापतिको औपचारिक प्रमाणपत्र बुझेको दिनदेखि मात्र कार्यकाल सुरु भएको मानिने परम्परा कांग्रेसमा छ ।

३ चैतमा प्रमाणपत्र बुझेका देउवाको कार्यकाल १० जेठबाट २ महिना १० दिन पुगेको छ । तर, उनले विधानत: गर्नुपर्ने काम सकेका छैनन् ।

विधानले दुई महिनाभित्र पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारीसहितको संसदीय समिति, ज्येष्ठ राजनीतिक सभा गठन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यी काममा देउवा असफल भएका छन् । कांग्रेसमा ४० विभाग छन् भने सात प्रदेश समिति गठन बाँकी छ । देउवाले पार्टी प्रवक्ता तोक्नसमेत सकेका छैनन् ।