काठमाडौं, २२ साउन । नेकपा एमालेको केन्द्रीय कमिटि बैठक निर्धारित मिति भन्दा दुई दिन पछि सरेको छ । एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आगामी साउन २५ गतेका लागि बोलाइएको थियो ।
साउन २५ गते जनमैपूर्णिमा र २६ गते गाइजात्रा परेकाले बैठक दिनका लागि पछि सारेर साउन २७ गतेका लागि बोलाइएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।
गत साउन २ गतेको बसेको केन्द्रीय कमिटिको पहिलो बैठकले दास्रो बैठक साउन २५ मा बस्ने मिति तय गरेको थियो । ‘पात्रो नहेरी हतारमा बैठकको मिति तय गरेकाले बैठक सार्नु पर्ने अवस्था आयो,’ एक केन्द्रीय सदस्यले भन्नुभयो ।
दोस्रो बैठकमा महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरुको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण लगायतका विषयमा छलफल हुने खड्काले जानकारी दिनुभयो ।
यस्तै स्थायी समितिको तथा पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना लगायत विषयलाई बैठकको कार्यसूची बनाइएको छ ।














प्रतिक्रिया