काठमाडौं, २२ साउन । वैदेशिक रोजगार सिलसिलामा सम्बन्धित मुलुकका दूतावासले दिने विभिन्न कागजात म्यानपावर कम्पनी आफैंले बनाएर ठगी गरिरहेको खुलासा भएको छ।
वैदेशिक रोजगारमा ठगी र अनियमितता बढेको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा उपत्यकामा सञ्चालित २७ म्यानपावर कार्यालयले १ सय ६९ दूतावासका नक्कली छाप र लेटरप्याड बनाएको खुलेको हो।
ती म्यानपावरले नक्कली छाप र लेटरप्याडकै आधारमा नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभागमा पेस गरेको अख्तियारको अनुसन्धानबाट फेला परेको छ।
आयोगले गत महिना २७ म्यानपावर कम्पनीका ४५ वटा फाइल विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। आयोगले विभागसँग सबै म्यानपावरका विवरणसमेत मागेको थियो।
अनुसन्धान क्रममा नक्कली मागपत्र बनाएर विभागमा पेस गरेको फेला परेपछि आयोगले ललितपुरको नाई बिल्डिङ प्रेसका सञ्चालकलाई पक्राउ गरेको थियो। नाईका सञ्चालकको बयान र ४५ वटा फाइल अध्ययनबाट म्यानपावर कम्पनीहरूले नक्कली कागजपत्र बनाएर विभागमा पेस गरेको फेला परेको आयोगका एक अधिकारीले जानकारी दिए।
अनुसन्धानमा संलग्न ती अधिकारीका अनुसार २७ म्यानपावरले विभिन्न मुलुकका दूतावासको नक्कली लेटरप्याड, छाप, विभागका कर्मचारीको दस्तखत र अन्य कागजात आफैं बनाएर विभागमा पेस गरेको भेटिएको छ।
आयोग स्रोतका अनुसार अनुसन्धानमा व्यवसायी संघकै कार्यसमितिका पदाधिकारीको म्यानपावरसमेत परेको समाचार आजको नागरिक दैनिकले छापेको छ । स्रोतले उपलब्ध गराएको सूचीमा वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेको कम्पनीको नामसमेत छ। छानबिनमा तानिएको रारा इम्प्लोइमेन्ट कन्सल्टेन्ट प्रालि, चाकुपाट, ललितपुरका सञ्चालक गैर हुन्।















प्रतिक्रिया