काठमाडौं, २१ साउन । कालीमाटी पुर्याबउँदा विषादी परीक्षण हुने डरले व्यापारीले ट्रकट्रकै तरकारी बेच्न थालेका छन्। कालीमाटी बजारअगाडि ट्रक राखेर व्यापारीले सस्तोमा बिक्री गरेको पाइएको छ।
‘तरकारीको विषादी परीक्षण पनि नहुने र कालीमाटी बजारको तुलनामा सस्तोमा पाइने भएपछि व्यवसायी त्यसतर्फ आकर्षित भएका हुन्,’ उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाले भने, ‘व्यापारीको यस्तो पाराले उपभोक्ता झन् मारमा परेका छन्।’
अहिले कालीमाटी आउने तरकारी परीक्षण गर्दा विषको अवशेष मापदण्डभन्दा कम पाइएको कृषि विकास मन्त्रालय सहसचिव मोहन चापागाईंले बताए। ‘दैनिक परीक्षण गर्दा मापदण्डभन्दा कम (३५ देखि ४० निषेध दरसम्म) पाइएको छ।’
उपभोक्ता अधिकारकर्मी भने ज्यादा विषादी प्रयोग हुने जिल्लाबाट आउने तरकारी कालीमाटी नगई ट्रकबाटै बिक्री हुन थालेकाले विषादीको अवशेष कम भेटिएको बताउँछन्।
कालीमाटीमा बसोबास गर्ने दुर्गाप्रसाद मैनालीले पनि आफूले ट्रकबाटै तरकारी किनेको बताए। ‘कालीमाटीभन्दा सस्तोमा पाइन्छ,’ उनले भने।
व्यापारीले कालीमाटी चोकभन्दा केही पर बिहान ट्रक राखेर तरकारी बेचिरहेको बानियाले जानकारी दिए। ट्रकको तरकारी ठेला व्यापारीले समेत किनेर लगेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
कालीमाटीबाट परीक्षण गराएर लगेको तरकारी र ट्रकबाट ठेलागाडा लगेको तरकारी बेच्दा मूल्य धेरै फरक पर्ने व्यवसायीले बताएका छन्।















प्रतिक्रिया